काठमाडौं,
साउन १६ ।
सामाजिक कथामा बन्न लागेको चलचित्र ‘झरीपछिको इन्देणी’को बिहीबार ललितपुरस्थित धन्वन्तरी बाराही मन्दिरमा शुभमुहूर्त गरेर छायांकन आरम्भ गरिएको छ । ४५ दिनको सेड्युलमा काठमाडौं, ललितपुर र भक्तपुरमा छायांकन हुनलागेको चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ ।
चलचित्रलाई बुद्ध थापाले छायांकन र सुशील कडरियाले निर्माण गर्नुहुनेछ । फिल्मको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ । रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना यस चलचित्रमा समावेस गरिएको बताइएको । चलचित्रको शुभमुहूर्तमा समेत बालेन पत्नी सविना काफ्ले उपस्थित भएर सफलताको शुभकामना दिनुभएको थियो । चलचित्रमा गणेश उप्रेती, निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला, ‘मुन्नी’को रूपमा चर्चित प्रियाना आचार्य लगायतको पनि अभिनय रहने जनाइएको छ ।
यसअघि ‘सक्किगोनि’ सिरियलको निर्देशन गर्नुभएका अर्जुनले ‘झरीपछिको इन्द्रेणी’ आफ्नो ‘अपग्रेड भर्सन’ रहेको बताउनुभएको छ । ‘यो पूर्ण फेमिली ड्रामा हो । कुनै पनि घरपरिवारमा भइरहने घटनाक्रम, जुन हामी सबैले भोगेका छौं, त्यसलाई नै समेटेका छौं,’ उहाँले चलचित्रबारे भन्नुभयो । चलचित्रमा अग्रज कलाकारसँग सहकार्य गर्न पाउँदा आफूले भाग्यमानी महसुस गरेको उहाँले सुनाउनुभयो ।
हास्य टेलिभिजन सिरियल ‘सक्किगोनि’का कलाकार कुमार कट्टेल (जिग्री)पछि अब सोही सिरियलका अर्का चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे)ले पनि चलचित्र निर्देशन गर्न लाग्नुभएको हो । ‘सक्किगोनि’ गर्दागर्दै सिरियलको टिमले चलचित्र ‘लाज शरणम्’ बनाएको थियो । यसमा अर्जुन घिमिरे कार्यकारी निर्माता र कलाकार हुनुहुन्थ्यो ।






