काठमाडौं,
साउन १३ ।
दक्ष इन्टरनेशनलको आयोजनामा आयोजित ‘ग्लोबल स्टार अवार्ड-२०२५’ सम्पन्न भएको छ । नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनमा सम्पन्न उक्त समारोह वरिष्ठ मेकअप आर्टिष्ट तथा दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको विशेष सम्मान समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद डा.चन्द्र भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । यस चरणमा समाजसेवा, शिक्षा, पत्रकारिता, स्वास्थ्य, साहित्य, पर्यटन, महिला सशक्तीकरणलगायत विभिन्न क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
मुख्य अवार्ड वितरण समारोहको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्थ्यो । समारोहमा गीतसंगीत, सौन्दर्य, चलचित्र, अभिनय, निर्देशन, फेशन डिजाइन, सामाजिक सेवालगायत ४० विधामा योगदान गर्ने व्यक्तित्व तथा संस्थालाई ‘ग्लोबल स्टार अवार्ड–२०२५’ प्रदान गरिएको थियो ।
संगीतरत्न शम्भुजित बास्कोटा, अभिनेत्री सनी रौनियार, निर्देशक रमेश बुढाथोकी, अभिनेता रमेश उप्रेती, उत्तम केसी, प्राडा.बाबुराम गौतम, डा.सीता ढुंगाना, नेपाली सेनाका ब्रिगेडियर जनरल राजन अधिकारीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रममा करिब एक दर्जन सांसद, कलाकार, व्यवसायी र समाजसेवीहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, सौन्दर्यकला, उद्यमशीलता र सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याएका ४६ विशिष्ट व्यक्तित्वलाई सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
वरिष्ठ गायक सीताराम पोखरेल र गायिका अञ्जु पन्तलाई नेपाली सांगीतिक यात्रामा पुर्याएको दीर्घ योगदानका लागि विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै, गिनिज वल्र्ड रेकर्डधारी कार्यक्रम व्यवस्थापक राजेन्द्र लुइटेल, सामाजिक अभियन्ता तथा अभिनेत्री शान्ता तामाङ, हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’लगायतलाई पनि सम्मान प्रदान गरिएको थियो ।
सौन्दर्य सेवा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने अफशान नेवा ‘हायु’, सुनिता टण्डुकार, सरिता गुरुङ, शोभा कार्की, सीता तामाङ, अनु गुरुङलगायत ब्यूटिसियनहरूलाई सम्मान गरिएको थियो । समाजसेवी ईशा गुरुङ, शान्ता शर्मा, इभेन्ट निर्देशक निशु झा, पर्यटन व्यवसायी बालकृष्ण पोखरेल, उद्यमी सुवास श्रेष्ठ, बलराम कार्की, सन्दीप खनाल, सुनिल अर्याल, मन्दिरा सिटौलालगायतलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
समारोहमा धार्मिक सेवा क्षेत्रमा योगदान दिने विनोद कार्की ‘मोहनिको महाराज’, सरु पुन ‘माता’ र श्यामबहादुर महत ‘हारती माता’लाई सम्मान गरिएको थियो । प्रवासबाट नेपाली सांस्कृतिक परिचय जगेर्ना गर्न सक्रिय हरि कर्माचार्य (अमेरिका), केशव आचार्य (दुबई)लगायतलाई ‘प्रवासी प्रेरणा’ सम्मान प्रदान गरिएको थियो ।
प्रियंका प्रसाईंको सञ्चालन गर्नुभएको कार्यक्रममा आनन्द कार्कीलाई सर्वाधिक लोकप्रिय गायक, एलिना चौहानलाई सर्वाधिक लोकप्रिय गायिका, रमेश शाहीलाई उत्कृष्ट उद्यमी (मिडिया एवं इभेन्ट), डिना गुरुङलाई अन्तर्राष्ट्रिय फेशन डिजाइनर, रीमा विश्वकर्मालाई लोकप्रिय महिला मोडल (म्युजिक भिडियो), रेशम सापकोटालाई दशककै उत्कृष्ट लोकगायक, भावना पन्तलाई प्रेरणादायी महिला पाइलट, चित्रकला पौडेललाई सौन्दर्य विशेषज्ञ-लुम्बिनी र रामप्रसाद खनाल (अमेरिका)लाई : लोकप्रिय लोकगायकको अवार्ड प्रदान गरिएको थियो ।
अध्यक्ष पाण्डेका अनुसार, समारोहको उद्देश्य नेपाली प्रतिभाको पहिचान, सम्मान र अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनु रहेको छ । उहाँले यस्तो कार्यक्रमले समाजका श्रमिक, स्रष्टा र सेवकलाई ऊर्जा दिनेमात्र होइन, भावी पुस्तालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।






