‘पीआर’ को रेड कार्पेट प्रीमियर अष्ट्रेलियामा हुने

काठमाडौं,
साउन १२ ।

सलोन-सलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘पीआर’ को रेड कार्पेट प्रीमियर अष्ट्रेलियामा हुने भएको छ । निर्माण पक्षका अनुसार, चलचित्रको प्रीमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा आयोजना गरिनेछ ।

चलचित्रको पहिलो प्रीमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमा हलमा हुनेछ, भने दोस्रो प्रीमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमा हलमा गरिनेछ ।

चलचित्र अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा प्रदर्शन हुँदैछ । शोभित बस्नेतद्वारा निर्देशित यो चलचित्रमा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय छ । त्यसैगरी, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गर्नुभएको छ ।

चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहनुभएको छ । कथा निर्देशक बस्नेतकै हो भने, पटकथा र संवाद गणेश बुढाथोकीले तयार पार्नुभएको हो ।

चलचित्रको छायांकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)ले गर्नुभएको हो भने, सम्पादन बन्दे प्रसादले गर्नुभएको छ । नृत्य रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको छ ।

निर्माण व्यवस्थापन केवलमान सिंह बस्नेतले सम्हाल्नुभएको छ भने प्रमुख सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ रहनुभएको छ । निर्देशक बस्नेतका अनुसार, चलचित्रको ६० प्रतिशत छायांकन अष्ट्रेलियाका विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको हो ।

विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष र नेपालमा रहेका परिवारजनको पीडा चलचित्रको मुख्य विषयवस्तु हो । निर्माण टिमका अनुसार, ‘पीआर’ नेपाली डायस्पोराले हेर्नैपर्ने चलचित्र हो । विदेश गएका छोराछोरी र नेपालमा रहेका बुवा-आमाबीचको आर्थिक तथा भावनात्मक सम्बन्ध फिल्मको कथामा समेटिएको छ ।

चलचित्रको कथाका बारेमा सुनाउँदै निर्देशक बस्नेतले भन्नुभयो- ‘अहिले “पीआर” प्रति अष्ट्रेलियाका विभिन्न सहरहरूमा उच्च माग देखिएको छ । चाँडै नै यो चलचित्रलाई विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा छौं ।’

यसमा तपाइको मत

अन्य समाचार