काठमाडौं,
साउन १२ ।
यही साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । आइतवार सार्वजनिक गरिएको यस गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
गीतले विशेष गरी रोजगारीको सिलसिलामा विदेशिएका युवाहरूले भोग्नु परेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेका अवस्थाहरू तथा त्यसपछिको घर-परिवारको सम्झनालाई सशक्त रूपमा उजागर गरेको छ ।
गीतमार्फत चलचित्रको मुख्य विषयवस्तु ‘वैदेशिक श्रम जीवनको यथार्थ चित्रण’ समेत प्रस्ट पारिएको छ । ‘आमा’ बोलको गीतमा गायक रामचन्द्र काफ्लेले स्वर दिनुभएको छ । मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द रहेको गीतमा संगीत स्वयं काफ्लेकै रहेको छ भने एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ किरण तुलाधरले गर्नुभएको हो ।
‘रियाल रिङ्गेट’ नाम स्वयं नै प्रतीकात्मक रहेको छ । ‘रियाल’ खाडी मुलुक कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको । यी दुई मुद्राको नाम संयोजनले ती मुलुकहरूलाई इङ्गित गर्छ, जहाँ लाखौँ नेपालीहरू श्रम गर्न बाध्य छन् । चलचित्रले त्यही वास्तविकता चित्रण गर्ने प्रयास गरेको छ।
चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा हुनुहुन्छ । साथै, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतका कलाकारहरूको अभिनय छ ।
चलचित्र कथा प्रदीप भारद्वाजले लेख्नुभएको हो । रोशन श्रेष्ठको द्वन्द निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको यस चदपचत्रमा गीत-सङ्गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीले सङ्गीत भर्नुभएको छ । चलचित्रका गीतमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर छ ।
गीतका शब्दहरू अमर न्यौपानेसहित रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेख्नुभएको छ । चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो । ‘रियाल रिङ्गेट’ लाई काफिया फिल्म्सले वितरण गर्नेछ । वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीहरूको कथा बोकेको यो चलचित्र तथा यसको गीत ‘आमा’ ले दर्शकको मन छुनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।






