काठमाडौं,
साउन १० ।
निःसन्तान जोडीको कथामा आधारित लघुचलचित्र ‘निःशब्द’ निर्माण गरिएको छ । चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक जानकारी गराइएको हो ।
सेलिब्रेटी टाइम्स ब्यानरमा बनेको यो चलचित्रका लेखक, निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुनुहुन्छ । ओजस्वीविक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथको अभिनय रहेको यो चलचित्र हाल पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा पुगेको जनाइएको छ ।
निर्देशक ज्ञवालीले चलचित्रलाई च्यारिटी शोमार्फत् दर्शकमाझ ल्याउने योजना सुनाउनुभयो । उहाँले युट्युबलाई पहिलो प्राथमिकता नदिई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गर्ने तयारी रहेको बताउनुभयो ।
‘निःशब्द’ले सन्तान नहुँदाको पारिवारिक र सामाजिक दबाब, मानसिक पीडा र मौन संघर्षलाई चित्रण गर्ने निर्माण टिमको भनाइ छ । ज्ञवाली निर्देशित ‘रित्तो गाउँ’, ‘लापता सन्तान’ र डकुड्रामा ‘मौन’ प्रदर्शनको पर्खाइमा छन् । ‘निःशब्द’सहित उहाँका चार प्रोजेक्ट सार्वजनिक हुने तयारीमा छन् ।






