काठमाडौं,
साउन ९ ।
लघु-चलचित्र प्रतियोगिताका लागि सिनेमा आहृवान गरिएको छ । अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गर्दै आएको तेस्रो संस्करणका लागि बुधबारबाट चलचित्र आहृवान गरिएको हो ।
२० वर्षमुनिका युवायुवती लक्षित प्रतियोगिताका लागि पठाइने लघु चलचित्रहरूको अवधि न्यूनतम् आठ मिनेट र अधिकतम १५ मिनेट हुनुपर्नेछ । चलचित्र बुझाउने अन्तिम म्याद भदौ ६ गते, शुक्रबार तोकिएको छ ।
विजेताहरूको घोषणा र उत्कृष्ट सिनेमाहरूको प्रदर्शनी भदौ १३ गते विशेष समारोहमार्फत हुने आयोजकले जनाएका छन् । सोही कार्यक्रममा पुरस्कार वितरणसमेत हुनेछ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले एक लाख, दोस्रोले पचास हजार र तेस्रोले पच्चीस हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
साथै, सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ । प्रतियोगिताका विजेताहरूले अस्कर कलेजमा अध्ययन गर्न चाहेमा ५० प्रतिशत छात्रवृत्तिको सुविधा पाउने व्यवस्था गरिएको कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
युवा पुस्तालाई सिनेमा निर्माणमा प्रेरित गर्नुका साथै नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले कलेजले यो प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको कलेजले जनाएको छ ।






