शिव कैलास कला मन्दिरको आयोजनामा उपत्यकाव्यापी चौथो एकल नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं,
साउन ८ ।

शिव कैलास कला मन्दिरको आयोजनामा उपत्यकाव्यापी चौथो एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै आएको संस्थाले काठमाडौं उपत्यकाका विभिन्न १३ विद्यालयका कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूलाई सहभागी गराएर तीनदिने कार्यक्रम सम्पन्न गरेको हो ।

साउन ४, ५ र ६ गते सम्पन्न प्रतियोगितामा अडिशनमार्फत एक हजारजना सहभागीमध्येबाट छानिएका तीन सयजना प्रतिभागीले विभिन्न विधामा प्रस्तुति दिएका थिए । प्रतियोगितामा विधागत नृत्य, तामाङ सेलो, कौरा, मारुनी, झ्याउरे र तीज गीतहरू समावेश गरिएका थिए ।

कार्यक्रमको उद्घाटन टोखा नगरपालिका-३ का अध्यक्ष रमेश डंगोलले गर्नुभएको थियो भने समापन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका उपमेयर मुररी तामाङ रहनुभएको थियो । कार्यक्रममा नेपाल चलचित्र क्षेत्रकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार रश्मि भट्ट, नृत्य निर्देशक संघका अध्यक्ष भुवन दास श्रेष्ठ, नृत्य निर्देशक आर्सी कोइराला, चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, महासचिव दिपेन्द्र तिमल्सिना, सचिव लिगेस भट्टराई, निर्माता-अभिनेता रोशन प्रधान, अभिनेता दिनेश केसी, अभिनेता पुष्कर रावतलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा निर्णायकको भूमिका नृत्य निर्देशक केपी पौडेल, कृष्ण रसाल, सुनिल थापा, मन्दिरा सुवेदी र सोम तामाङले निर्वाह गर्नुभएको थियो । कक्षा अनुसार पहिलो, दोस्रो, तेस्रो, सान्त्वना र उत्कृष्ट नृत्य गरी पाँच विधामा कुल ४५ जनालाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । टोलीगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई नगद पुरस्कार र शिल्ड प्रदान गरिएको थियो ।

टिम प्रथम–सभ्यता पाथशाला, रानीवन दश हजार नगद अनि शिल्ड, टिम द्वितीय-मिलन धर्मस्थली, काभ्रेस्थली पाँच हजार नगद अनि शिल्ड र टिम तृतीय रेडन स्कुल, सामाखुसी चार हजार रुपैयाँ नगद अनि शिल्ड प्रदान गरिएको थियो ।

गिनिज स्कुल धर्मस्थली, लालिगुराँस विद्यालय काभ्रेस्थली, क्युपिड स्कुल बानियाँटार, विद्योदय स्कुल डल्लु, जिनियस स्कुल नयाँबजार, किड्स स्कुल सूर्यदर्शन, नभ सुन्ताखान स्कुल जोरपाटी र हेम्स स्कुल रातोपुल विजेता तथा उपविजेताको रूपमा सम्मानित भएका भएका थिए ।

शिव कैलास कला मन्दिरका अध्यक्ष तथा नृत्य निर्देशक नारायण रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक रोशन बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन नृत्य निर्देशक रेनुका रिजालले र सञ्चालन युनिसा रिजालले गर्नुभएको थियो । कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालयलाई सम्मानपत्र प्रदान गरिनुका साथै अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार