काठमाडौं,
साउन ७ ।
राई समुदायको मौलिक संस्कृति, परम्परा र मूल्यलाई आत्मसात् गर्दै निर्माण गरिएको चलचित्र ‘नाकछोङ (बिजुवा)’को विशेष प्रदर्शन बेलायतको केन्टस्थित ‘द आसफोर्ड सिनेमा’ मा सम्पन्न भएको छ । जुलाई २० मा आयोजित शोमा स्थानीय नेतादेखि व्यवसायी, विशिष्ट व्यक्ति तथा युकेमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो ।
विशेष प्रदर्शनमा चलचित्रका निर्माता ज्योतिराज राई स्वयं उपस्थित रहनुभएको थियो । सहभागीहरूले कथावस्तु, निर्देशन र फिल्म मेकिङको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए । कार्यक्रमको व्यवस्थापन किरात राई यायोक्खा प्रा.का.स.आसफोर्डले गरेको थियो ।
निर्माता राईका अनुसार यो चलचित्र अब युकेका किरात राई यायोक्खाका १७ वटै प्रा.का.स.मा प्रदर्शन हुनेछ । साथै, युरोपका पाँचस्थान र हङ्कङ, कोरिया, अष्ट्रेलिया, जापान, सिंगापुर, ब्रुनाइ, मलेसियालगायतका देशहरूमा पनि विशेष प्रदर्शन तय भइसकेको छ । चलचित्रमा भुवनसिंह राई, यासेली योङहाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राईलगायत दर्जनौं कलाकारहरूको अभिनय छ । बालकलाकार जेशन राई पनि चलचित्रमा देखिनुभएको छ ।
चलचित्रका निर्देशक किरण राई हुनुहुन्छ । उहाँले यसअघि ‘लुङा’ र ‘जिउपञ्चौं’ निर्देशन गर्नुभएको थियो । ‘नाकछोङ’ उहाँको तेस्रो चलचित्र हो । लेखन पनि किरणकै रहेको यो चलचित्रमा पोपीराज राई सह-निर्माता हुनुहुन्छ भने बाबु श्रेष्ठको छायांकन छ ।
गीतमा राजन मुकारुङ र विष्णु किराती का शब्द, दिनेशकाजी वान्तवा, अनिल कोई राईको संगीत र नोगेन लिम्बु तथा परेस राईको स्वर छ । मोनिष निरौला (पाश्र्व संगीत), अनिल राना (कलर), सागर अर्याल (ध्वनि संयोजन) र गिरिराज राई तथा कमल लिम्बु (सार्के) निर्माण नियन्त्रकको रूपमा संलग्न हुनुहुन्छ ।
निर्माता ज्योतिराज राईका अनुसार, ‘नाकछोङ’ चलचित्र निर्माणको उद्देश्य राई समुदायमा चाडपर्व, विवाह, मृत्युसंस्कार र संस्कार प्रणालीमा केन्द्रित परम्परागत बिजुवा (नाकछोङ) संस्कृति बचाएर नयाँ पुस्तामा पुस्तान्तरण गर्नु हो ।
चलचित्रको नेपाल प्रदर्शन मिति तोकिएको छैन । हाल यो चलचित्र अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शनपछि मात्र सार्वजनिक प्रदर्शन गरिने तयारीमा निर्माणपक्ष छ । ज्योतिराज राईले यसअघि ‘लुंगा, संगम, त्रिवेणी, पापी मान्छे, वान वे’ लगायत चलचित्र र चर्चित टेलिभिजन शृंखला पनि निर्माण गर्नुभएको छ ।






