मोक्तान र शाहलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान-२०८१’ अर्पण

ललितपुर,
साउन ४ ।

२०८१ सालको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान-२०८१’ बाट वरिष्ठ गायिका चन्द्रकला शाह तथा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तालाई सम्मान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले शनिवार कुपण्डोलस्थित होटल हिमालयमा आयोजित भव्य सांगीतिक समारोहमा प्रतिष्ठानका संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले जनही एक लाख रुपैयाँ राशिसहितको उक्त सम्मानले गायिका शाह तथा संगीतकार मोक्तालाई सम्मानित गर्नुभएको हो । उहाँहरूलाई नगद राशिसहित दोसल्ला ओढाएर ताम्रपत्र अर्पण गरिएको थियो ।

समारोहमा प्रतिष्ठानले यो वर्षको सुशीला आचार्य सुस्वास्थ कामना सम्मान-२०८१’ दिवंगत कलाकार घनश्याम गौतमलाई ताम्रपत्रसहित सम्मानित गरेको छ । कलाकार गौतमकी धर्मपत्नी यूगज्योति क्रियाशिलले उक्त सम्मान ग्रहण गर्नुभएको थियो ।
समारोहमा सम्मान ग्रहण गरेपछि गायिका शाहले भजन शिरोमणि भक्तराज आचार्यलाई स्मरण गर्दै उहाँको नेपाली सांगीतिक क्षेत्रको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

यस्तै, सम्मानित व्यक्तित्व संगीतकार शिलाबहादुर मोक्तानले काठमाडौं आएपछि रेडियो नेपाल पुगेर पहिलो पटक भेटेको संगीतकर्मी नै भक्तराज आचार्य भएको स्मरण गर्दै आचार्यको मार्गदर्शनले आजसम्म सांगीतिक क्षेत्रमा सक्रिय रहन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।

क्यान्सरका कारण यो संसारबाट विदा हुनुभएका कलाकार घनश्याम गौतमीकी धर्मपत्नी घनज्याती गौतमले समारोहमा राखिएको पोष्टरमा आफ्नो श्रीमानको नामको अगाडि स्वर्गीय शब्द नराखिएकोमा प्रतिष्ठानलाई धन्यवाद अर्पण गर्दै कलाकार सधैं अमर भइरहने आफ्नो मान्यताले सार्थकता पाएको बताउनुभयो । गौतमले श्रीमानको निधनको ४५ दिनसम्म सेतो पहिरन लगाइरहेकोमा यो समारोहमा पहिलो पटक रातो रंगको खादा ग्रहण गर्दै आफू पनि कलाकारिता क्षेत्रमा सक्रिय रहेकाले आजैदेखि सबै प्रकारका रंग खुलेको घोषणा गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनले भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा आयोजना गरिने कार्यक्रममा सदैव आफ्नो सहकार्य रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

समारोहमा उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्दै प्रतिष्ठानका प्रमुख सत्यराज आचार्यले अघिल्लो वर्ष बुवाको निधनको शोकमा यो समारोह आयोजना गर्न नसकिएपछि यसै वर्षदेखि यसले निरन्तरता पाएको बताउँदै सम्मानित व्यक्तित्वहरूलाई वधाई ज्ञापन गर्नुभएको थियो ।

समारोहमा गायक स्वरुप राज आचार्यले आफ्ना बुवा तथा भजन शिरोमणि भक्तराज आचार्यको सांगीतिक पाटोको चर्चा गर्दै संगीतकर्मी सुरजकुमार थापाको गिटारवादनमा एउटा कालजयी गीत प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा संगीतकर्मी सुरजकुमार थापा तथा गायिका निशा देसारले भजन शिरोमणि आचार्यका साथै सम्मानित संगीतकार मोक्तान तथा गायिका शाहका कालजयी गीत प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार