काठमाडौं,
असार ३२ ।
चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’ को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द र संगीतमा तयार भएको उक्त गीतमा गायिका मनिषा पोखरेलको स्वर सुन्न सकिन्छ । गीतले आफूभित्र पनि प्रेम गर्ने चाहना र भावना रहेको कथा बोकेको छ । भिडिओमा अभिनेता नाजिर हुसेनलाई नर्तकको भूमिकामा देखाइएको छ । नाजिरले गेस्चर र पोस्चरमा विशेष मिहिनेत गर्नुभएको छ भने भिडियोमा सुशील सिटौला पनि देखिनुभएको छ ।
समुन्द्र भट्टको निर्देशनमा बनेको यो चलचित्र आगामी भदौ १३ गतेदेखि सिनेमाघरमा आउँदैछ । चलचित्रले पारालैंगिक (ट्रान्सवुमन) पात्रको संवेदनशील कथा प्रस्तुत गर्छ । अभिनेता नाजिर हुसेनले यसमा ट्रान्सवुमनको भूमिका निभाउनुभएको छ ।
चलचित्रमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ ।
नेपाली सिने इतिहासमै पहिलो पटक ट्रान्स स्टोरीमा पूर्णरूपमा आधारित यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउने प्रयास भएको छ । अमेरिकाको बफेलो एट्ले नामक कम्पनीले चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ ।
चलचित्रमा हलिउडकी चर्चित गायिका लिजा जेरार्डको स्वर समावेश गरिएको छ भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसी ले तयार पार्नुभएको छ । चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउस को संयुक्त सहकार्यमा निर्माण गरिएको हो ।
चलचित्रमा आकाश बुढाथोकी र भी–भन्से जानुबोनको लगानी रहेको छ । कार्यकारी निर्माताका रूपमा जेफ्री जे वेन र स्टिभ जोन्स्टन रहनुभएको छ भने अनुपम श्रेष्ठ सहयोगी निर्माताको भूमिकामा हुनुहुन्छ । आलोक शुक्लाले यो चलचित्रको छायांकन गर्नुभएको हो ।






