बुटवल,
असार ३० ।
आगामी साउन २३ गतेबाट सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोहर’को प्रचारमा नायक पल शाह र नायिका बेनिशा हमाल लागि पर्नुभएको छ । यो चलचित्रमा समावेश ‘झुम झुम’ बोलको गीतले दर्शकको साथ पाइरहँदा पल र बेनिशा दर्शकसँग यही गीतमा नाँचिरहनुभएको छ ।
उहाँहरू यतिबेला बुटवल पुग्नुभएको छ । जहाँ, उहाँहरूले दर्शकसँग चलचित्रको बिषयमा साक्षात्कार गर्नुभएको छ । चलचित्रका लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बनजंग शाही, चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको साथमा नायक पल शाह र नायिका बेनिशा हमाल बुटवलका क्याम्पस र स्कुलमा पुग्नुभएको हो ।
दर्शकसँग साक्षात्कार गर्ने क्रममा नायक पलले ‘मोहर’ सबै परिवारले हेर्ने कथा भएको बताउनुभयो । कार्यक्रममा पलले फ्यानहरुसँग साक्षात्कार पनि गर्नुभयो । पलले भन्नुभयो, ‘एउटा कलाकारले कमाउने भनेकै दर्शकको माया हो । यो माया सजिलै कमाउन सकिदैन ।’
चलचित्रको टिमले कलेज, स्कुलसँगै रोट्राक्टमा आवद्ध विभिन्न व्यक्तिहरूसँग पनि साक्षात्कार गरेको थियो । पल र बेनिशालाई भेट्न पाउँदा दर्शक उत्साहित देखिएका थिए । उनीहरूले, ‘मोहर’को प्रतिक्षा व्यग्र रुपमा गरिरहेको बताएका थिए ।
देउकी प्रथामा आधारित रहेर तयार पारिएको यो चलचित्रमा पल र बेनिशाको साथमा नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
यो चलचित्रले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रको टिजर र दुई गीतलाई दर्शकले मन पराइसकेका छन् । केही दिनमै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । फिल्म मेकर्स प्रालिको व्यानरमा यो चलचित्र निर्माण भएको हो ।






