सौगात विष्ट निर्देशित लघुचलचित्र ‘भूवा’को छायांकन सम्पन्न

काठमाडौं,
असार ३० ।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउनुभएका सौगात विष्ट निर्देशित नयाँ लघुचलचित्र ‘भूवा’को ‘इन्डक्ल्याप’ गरिएको छ । डान्स फिभरको प्रस्तुति रहेको यस चलचित्रको निर्माण सम्झना पोखरेलले गर्नुभएको हो ।

‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ बोकेको चलचित्रका प्रमुख कलाकार गजित विष्टले जानकारी दिनुभयो । उहाँ चलचित्रमा मुख्य पात्रको रूपमा प्रस्तुत हुनुभएको छ ।

चलचित्रले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ । कम उमेरमै निर्देशनमा पाइला टेक्नुभएका सौगातले यस लघु चलचित्रमार्फत पुनः आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने निर्माण टिमको विश्वास छ ।

संगम विष्टले लेखेको कथा र पटकथामा आधारित यस चलचित्रमा नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन र विक्रम गौतमको मेकअप रहेको छ । चलचित्रको गीतमा चन्द्रमणि भट्टराईले शब्द रचना गर्नुभएको छ भने संगीत राजेन्द्र बजगाईंले भर्नुभएको छ ।

सारिका घिमिरे र विषम आचार्यको स्वरमा रेकर्ड गरिएको गीतमा ब्याकग्राउण्ड म्युजिक विषम आचार्यकै छ । चलचित्र निर्माणमा गम्भीर विष्ट र कुमार मोक्तान तामाङ सल्लाहकारको भूमिकामा रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार