काठमाडौं,
असार २७ ।
टंक बुढाथोकी निर्देशित तथा निर्माण गरिएको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्मात्री विष्णु माया मैनाली र विभिन्न वितरण कम्पनीहरूबीच सम्झौता भएपछि निर्माण टिमले औपचारिक रूपमा प्रदर्शन मिति तय गरेको हो ।
चलचित्रको वितरण अधिकार नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले प्राप्त गरेका छन् ।
‘मन बिनाको धन’ मा नवगायक अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
गायक अशोक दर्जीले चर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत चर्चा कमाउनुभएको थियो । यही गीतले उहाँलाई राष्ट्रिय पहिचान दिलाएको थियो । हाल दर्जी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । गीतमा टंक बुढाथोकीकै संगीत रहेको छ ।
सामाजिक विषयवस्तुमा आधारित चलचित्रको कथा स्वयं टंक बुढाथोकीले लेख्नुभएको हो भने पटकथा र संवाद शिवम् अधिकारीले तयार पार्नुभएको छ ।
चलचित्रकी निर्मात्री विष्णु माया मैनाली हुनुहुन्छ भने सपना शर्मा कार्यकारी निर्माताको रूपमा रहनुभएको छ । सहनिर्मातामा जीपी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे हुनुहुन्छ ।
प्राविधिक पक्षमा सौरभ लामाको छायांकन, मित्र डी. गुरुङको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, तथा नवराज शर्मा मुख्य सहायक निर्देशक हुनुहुन्छ ।
निर्देशक बुढाथोकीको शब्द र संगीतमा बनेको यो चलचित्र सामाजिक सन्देशसहितको पारिवारिक प्रस्तुति हुने अपेक्षा गरिएको छ ।






