षट्कोण आर्ट्सको ‘बहुरुपिया’को पहिलो झलक सार्वजनिक

काठमाडौं,
असार २३ ।

बौद्ध धर्मगुरु तथा चलचित्र निर्देशक जोङसार खिन्से नोर्बु निर्देशित चलचित्र ‘बहुरुपिया’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माताले सार्वजनिक गरेको झलकमा अभिनेता कमलमणि नेपाल मोटरसाइकल हाँकिरहेको र पछाडि निर्देशक नोर्बु बसेको देखिन्छ । अर्को तस्वीरमा रविन्द्रसिंह बानियाँ, कमल र निर्देशक नोर्बु देखिनुहुन्छ । छायांकन हालैमात्र सम्पन्न भएको चलचित्र अहिले सम्पादनको चरणमा पुगेको छ ।

चलचित्र नेपाली लेखक सम्राट उपाध्यायको कथामा आधारित छ । यसले काठमाडौं वरपर बहुरुपी कला गर्ने राम नामका परम्परागत कलाकारको कथा प्रस्तुत गर्छ, जसको जीवन श्रीमतीको अचानक मृत्युपछि उथलपुथलमा पर्छ । उनको साथमा रहेका छोरा मोती बेरोजगार भए पनि फोटोपत्रकार बन्ने सपना देख्छन् ।

निर्देशक नोर्बुले चलचित्र सामान्य जीवनका पात्रहरू र उनीहरूको द्विविधा-संघर्षप्रति समर्पित रहेको बताउनुभयो । उहाँका अनुसार यस्ता पात्रहरू जो पहिचान र परिवेशको बीचमा बाँच्छन्, तिनीहरूको कथा दर्शकमा गहिरो प्रभाव पार्न सक्छ ।

चलचित्रलाई सोफी पक्र्स, म्याक्स दिपेश खत्री र तारी रत्न प्रधानले निर्माण गर्नुभएको हो । यसअघि नोर्बुका ‘द कप’, ‘वारा’, ‘हेमा हेमा’ जस्ता चलचित्र अन्तर्राष्ट्रियस्तरमा सफल भइसकेका छन् । ‘बहुरुपिया’ आगामी वर्ष अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार