काठमाडौं,
असार १७ ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ । हास्यरसले भरिएको दुई मिनेट लामो टिजरमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को शान-सौकत र ऐस-आरामयुक्त जिन्दगी देखाइएको छ ।
टिजरमा उहाँ दुई अलग गेटअपमा प्रस्तुत हुनुभएको छ । केदारका भिन्न स्वरूप देखिने टिजर रमाइला संवादले भरिएको छ । केदारसहित विल्सनविक्रम राई, वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाउनुभएको छ टिजरमा ।
केदार घिमिरेलाई पोष्टरमार्फत् नै भिन्न स्वरूपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरूपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मार्फत केदार घिमिरे पहिलोपटक मुख्य भूमिकामा देखिन लाग्नुभएको हो । आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसूदन शर्मा निर्माता रहेको चलचित्रलार्ई ऋषि लामिछानेले निर्देशन गर्नुभएको हो ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन छ । चलचित्रको टिजर साहिल खानले तयार गर्नुभएको हो । यो चलचित्रलाई आरआर फिल्मले वितरण गर्दैछ ।






