काठमाडौं,
असार १६ ।
तामाङ भाषामा रहेको प्रेमगीत ‘जालमाया’को नयाँ संस्करण सार्वजनिक भएको छ । नयाँ संस्करणमा गायिका निर्मला घिसिङ र गायक रमण थामीको स्वर रहेको छ । गीतलाई अडियो प्लाटफर्ममार्फत सार्वजनिक गरेपश्चात् भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । भिडियो गायिका निर्मलाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
तामाङ सिनेमा ‘जालमाया’को शीर्षक गीत रहेको यो गीत विसं २०६० साल (२००३) मा गायक अमृत लामा र स्वर्गीय गायिका योगिता मोक्तानको स्वरमा रेकर्ड गरिएको थियो । चलचित्र निर्माता सन्तलाल घिसिङले रचना गर्नुभएको गीतमा कुबेर दोङको संगीत र उहाँकै संगीत संयोजन छ ।
करिब २२ वर्षपछि रेकर्ड गरिएको नयाँ संस्करणमा भने पवन वाङ लामाले संगीत संयोजन गर्नुभएको छ । सुन्दर लामाले ध्वनि सम्पादन गर्नुभएको यस गीतको भिडियोमा रोशन फ्युबाको निर्देशन छ । तामाङ समुदायको बाक्लो बस्ती रहेको रसुवा र धादिङ जिल्लाको सुन्दर प्राकृतिक स्थलमा छायांकन गरिएको गीतको भिडियोमा रञ्जिता तामाङ र सोनाम तामाङको अभिनय छ । यसमा प्रतीक ङ्यासुरको कोरियोग्राफि छ ।






