काठमाडौं,
असार १४ ।
कवि जुमन किरणको पहिलो कविताकृति ‘यादहरूको बहिर्गमन’ विमोचन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यतामा उक्त कृतिको विमोचन गरिएको हो । प्रमुख अतिथि साकारले जुमनका कवितामा पाठकले नयाँ स्वाद भेट्ने जिकिर गर्नुभयो । उहाँ प्रयोगवादी कवि भएको चर्चा गर्दै कवि साकारले कवितामा सौम्य व्यंग्य भेटिने उल्लेख गर्नुभयो ।
कृतिमाथि पाठकीय टिप्पणी राख्दै कवि कृष्ण प्रधानले नेपाली कविताका क्षेत्रमा यस कृतिले प्रतिनिधिमूलक योगदान पुर्याउने धारणा राख्नुभयो । उहाँले जुमनका कवितामा गहिरो अभिव्यक्ति भेटिने चर्चा गर्दै उहाँका कवितामा चित्रकारी बिम्ब पनि रहेको उल्लेख गर्नुभयो ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरू कलानिधि दाहाल, श्रीओम श्रेष्ठ रोदन, कवि जुमन किरण, प्रोल्लास सिन्धुलीय, छविरमण सिलवाल र पूर्णबहादुर श्रेष्ठले कृतिमाथि आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा रुविना राना, विनोद खत्री र वसुन्धरा चौहानले सार्वजनिक कृतिभित्रबाट एक-एक कविता वाचन गर्नुभएको थियो ।






