‘लालीबजार’मा स्वस्तिमाको फरक लुक्स

काठमाडौं,
असार ११ ।

चलचित्र ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने हुनुभएको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको ‘जात्रा’ शृंखलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गरेको यो चलचित्रको मंगलबार अभिनेत्री खड्का फिचर्ड पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको हो । सार्वजनिक पोष्टरमा अभिनेत्री खड्का भिन्न देखिनुभएको छ । गर्भवती महिला देखिए तापनि उहाँको शृंगार र हाउभाउले फरक चित्रण गरेको छ । अर्थात् उहाँको शारीरिक अवस्था र उहाँको चाहना पोष्टरमा भिन्न देखाइएको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दै हुनुहुन्छ भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई रहनुभएको छ ।

अभिनेत्री खड्काले चलचित्रको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रूपमा प्रस्तुत हुन् तयार भएको बताउनुभयो । ‘मेरा अघिल्ला फिल्मभन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोष्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु,’ उहाँले भन्नुभयो । निर्माता बानियाँका अनुसार षट्कोण आट्र्सले स्क्रिप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुवात गरेको हो ।

‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौं । राम्रो कथा दर्शकसम्म जानबाट वञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौं । सोही क्रममा निर्देशक थापाले पठाउनुभएको स्क्रिप्टले हामीलाई आकर्षित ग¥यो । उहाँले स्क्रिप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह गर्‍यौ’, निर्माता बानियाँले भन्नुभयो ।

निर्देशक थापा पनि आफ्नो करिअरलाई ‘लालीबजार’ले नयाँ उचाइ दिनेमा विश्वस्त हुनुहुन्छ । निर्देशनमा केही समय विश्राम लिनुभएका थापाले यसपटकको कार्यशैलीले आफ्नो कामलाई झनै परिपक्क बनाएको जिकिर गर्नुभयो । ‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आट्र्समा आइपुगेको हुँ, यहाँ आएपछि मसँग भएको एउटा आइडिया शेयर गरेँ । उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौं, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ । यो मेरा लागि अवसर र चुनौती दुवै हो’, निर्देशक थापाले भन्नुभयो ।

उहाँले चलचित्रका अन्य कलाकार र विषयवस्तुका बारेमा क्रमशः जानकारी दिँदै जाने बताउनुभयो । सार्वजनिक गरिएको पोष्टरमा केशव पाण्डेको फोटोग्राफी रहेको छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोष्टर तयार पार्नुभएको हो । आगामी दशैँलगत्तै छायांकन गरिने ‘लालीबजार’ षट्कोण आट्र्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौं चलचित्र हो । यसबाहेक ‘टल्कजंग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मंक’लगायत चलचित्रमा अन्य व्यानरसँग सहकार्य गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार