काठमाडौं,
असार ११ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने १६ व्यक्तिलाई ‘इनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरेको छ । अमेरिकामा रहेर नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय, समाजसेवामा योगदान दिनेलाई सम्मान प्रदान गरिएको हो । चलचित्रमार्फत मानवअधिकार र संस्कृति प्रवद्र्धनमा योगदान दिने पूर्णसिंह बराइली, ललित कलाकार राजेन्द्र केसी, उदीयमान गायिका आश्रा कुँवर, प्रतिभावान दृष्टिविहीन सुजन ढकाल, संस्कृति प्रवद्र्धनमा सक्रिय संस्था ‘नेपाल पासा पुचः अमेरिकाय’लाई इनास राष्ट्रिय सम्मान २०२५ प्रदान गरिएको छ ।
यस्तै, गीतकार तथा साहित्यकार अम्बिका गुरुङ, स्वयंसेवकको रूपमा सक्रिय रुवि पौडेल र अपेक्षासिंह परियार, समाजसेवी विजया शाह, उद्यमी तथा समाजसेवी अमर छन्त्याल, नृत्य कोरियोग्राफर नवीन केसी, पत्रकार तथा अधिकारवादी सच्ची मैनाली, तेक्वान्दो खेल प्रवद्र्धनमा सक्रिय दम्पती कुमार र कल्पना कार्की, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, पार्कर खेलाडी दिनेश सुनाम र चलचित्र अभिनेत्री दिब्या रायमाझीलाई इनास अमेरिका राष्ट्रिय सम्मान २०२५ प्रदान गरिएको थियो ।
इनास अमेरिकाका अध्यक्ष राहुल केसीको अध्यक्षता र ग्लोबलकी संरक्षक नीता श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय राज्य निकायका तर्फबाट सिनेटर, डेलिगेट्स, विभिन्न संघसंस्थाका पदाधिकारी सहभागिता थियो । कार्यक्रममा चलचित्र ‘तेल भिसा’ र वेब-सिरिज ‘घर बट इन अमेरिका’को टिमलाई पनि सम्मान प्रदान गरिएको थियो ।
सो अवसमार अमेरिका र विभिन्न युरोपेली मुलुकबाट पुगेका कलाकारलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको थियो । इनास संस्थाका विभिन्न कार्यसमिति, राज्य समिति र राष्ट्रिय समितिका अध्यक्षलाई इनास सम्मान प्रदान गरिएको थियो । इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले संस्था स्थापनाको उद्देश्य र इतिहासबारे प्रकाश पार्नुभएको थियो ।






