काठमाडौं,
असार ९ ।
साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको चलचित्र ‘राम नाम सत्य’मा अभिनेता सुनिल थापा अनुबन्धित हुनुभएको छ । हाल प्रि-प्रोडक्सनमा रहेको यो चलचित्रमा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसक्नु भएको छ ।
निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । ‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ’, माइकलले भन्नुभयो ।
चलचित्रलाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी माइकलको छ । नायक सुशिल श्रेष्ठ ‘परिवर्तन’ नामक चदपचत्रको सेटबाट फर्किएसँगै वर्कशप सुरु हुने निर्देशक चन्दले बताउनुभयो ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता डा. डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुनुहुन्छ । चलचित्रमा महेश पौडेलको डीओपी रहनेछ भने साउथका कलाकार तथा एक्सन निर्देशकसँग पनि सहकार्य गर्ने तयारी गरिएको छ ।






