‘आ बाट आमा’ मा प्रदीप रावत अनुबन्ध

काठमाडौं,
असार १ ।

भारतीय अभिनेता प्रदीप रावत फेरि नेपाली चलचित्रमा देखिने हुनुभएको छ । यसअघि नेपाली चललचित्र ‘ह्रस्व दीर्घ’मा अभिनय गर्नुभएका उहाँ ‘आ बाट आमा’मा अनुबन्ध हुनुभएको छ ।

यो चलचित्रलाई ’ह्रस्व दीर्घ’ कै निर्देशक चन्द्र पन्तले निर्देशन गर्न लाग्नुभएको हो । निर्देशक पन्तले चलचित्रमा प्रदीप रावत पल शाहको बुबाको भूमिकामा रहने बताउनुभयो । ‘नितान्त नेपाली लोकमा नेपाली स्टाइलको भूमिका निर्वाह गर्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

प्रदीपले यसअघि ‘ह्रस्व दीर्घ’ मा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गर्नुभएको थियो । प्रदीपले मुख्यतया तेलुगु, हिन्दी र तमिल भाषाका चर्चित चलचित्रहरूमा काम गर्नुभएको छ । खासगरी खलनायकको भूमिका निभाउनका लागि उहाँ प्रसिद्ध मानिनुहुन्छ ।
‘आ बाट आमा’को कुरा गर्दा यसमा विपना थापा र पल शाह अनुबन्ध भइसक्नुभएको छ । चन्द्र पन्तकै निर्देशनमा बनेको चलचित्र ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गर्नुभएको थियो ।

भदौबाट फ्लोरमा जाने तयारीमा रहेको ‘आ बाट आमा’ को स्क्रिप्ट अभिमन्यू निरवीले तयार पार्नुभएको हो । अन्य कलाकार र प्राविधिकको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तको भनाइ छ ।

निर्देशक पन्तले यो चलचित्रको प्रदर्शन मितिसमेत तोकिसक्नु भएको छ । चलचित्र आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ ।

यसमा तपाइको मत

अन्य समाचार