काठमाडौं,
जेठ २९ ।
वरिष्ठ सर्जक गणेश रसिकको श्रद्धाञ्जलि सभा गरिएको छ । वासु-शशि स्मृति परिषद्ले काठमाडौंमा श्रद्धाञ्जलि सभा आयोजना गरेको हो । परिषद्की उपाध्यक्ष हीरण्यकुमारी पाठकको सभापतित्वमा आयोजित सो श्रद्धाञ्जलि सभामा सर्जकहरू बुलु मुकारुङ र लोचन भट्टराईले रसिकको योगदानको चर्चा गर्नुभएको थियो । साथै गायिका लोचन भट्टराईले गीत प्रस्तुत गर्नुभएको थियो । परिषद्का सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले रसिकको योगदानको चर्चा गर्नुभएको थियो ।
वासु–शशि स्मृति परिषद्का सदस्यसचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कविहरू ठाकुर बेलवासे, रचना सिंह र दिलीप श्रेष्ठले रसिकबारे लेखिएका कविता वाचन गर्नुभएको थियो ।
कवि यादव भट्टराईले सहजीकरण गर्नुभएको कार्यक्रममा रसिककी छोरी नीरजा रसिक राई, सर्जकहरू मदनदास श्रेष्ठ, शैलेन्द्र साकार, प्रेमराजा महत, पवन आलोक, श्याम प्रधान, तीर्थ कोइराला, श्रीओम श्रेष्ठ ‘रोदन’, जयदेव भट्टराई, प्राज्ञ बाबा बस्नेत, प्राडा.गोविन्दमान सिंह कार्की, सन्ध्या पहाडी, मुरारी सिग्देल, उद्धव राई, विजयध्वज थापा, सुदर्शन श्रेष्ठ, शेखर ढुंगेल, देविका तिमिल्सिना, विक्रमभक्त जोशी, तारा सुवेदी, पारशप्रकाश नेपाल, राजेश खनाल, जय छाङ्छा, रीता महर्जन, उषा केसी, राधा कार्की, डी.आर.राई, ठूले राई, राजन न्यौपाने, कविता दाहाललगायतको उपस्थिति थियो ।
रसिकको ७८ वर्षको उमेरमा २०८२ जेठ १८ गते नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा प्रोस्टेट क्यान्सरको उपचारको क्रममा देहावसान भएको थियोे । कविता, कथा, उपन्यास, संस्मरण, निबन्धलगायत विधामा कलम चलाउनुभएका रसिकका ‘झोडा, क्षितिजलाई छुन खोज्दा, एउटा सारंगीभित्र, जब सिस्नुहरू टेक्दै हिँडे, दशगजामा उभिएर’ जस्ता कृति प्रकाशित छन् । यसका अलावा उहाँका ‘पेरुंगो (मुनिया र उसको छोरो, ताराभन्दा सपना धेरै, आकाशगंगाको ओतमुनि, छपक्कै मनमा बसेकाहरू’ जस्ता कृति प्रकाशित छन् ।
‘पाँचौ पिँढी’ को सम्पादन गर्नुभएका रसिकका अनेकौ कालजयी गीतहरू प्रकाशित छन् । सर्जक रसिकले नेपाली लोक शैलीका गीत र राष्ट्रिय गीतहरूमा पनि आफ्नो स्वर र संगीत दिनुभएको । रसिकका ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास, नखेल्नु जुवा र तास, भाले क्वाँया क्वाँया, ओ याङ्जी नाना, धेरै सम्झे धेरै हुन्छ, हाम्रो घरबाट ट्याम्के डाँडा, ओ शून्यता, रातो’ जस्ता गीत लोकप्रिय छन् । रसिक गीत लेखन तथा गायनका बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । गीतकार, संगीतकार र गायक रसिक भोजपुरको छिनामखुमा विसं २००४ असोज ४ गते थुलुङ राई परिवारमा जन्मिनु भएको थियो ।






