काठमाडौं,
जेठ २२ ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा रङ्ग पत्रकार कुबेर गिरी नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई उक्त पदमा नियुक्ती गरिएको हो ।
गिरीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिनुभएको छ । दुई दशकदेखि रङ्ग पत्रकारितामा सक्रिय गिरी बिभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचारहुँदै पछिल्लो समय रातोपाटी डटकममा कार्यरत हुनुहुन्छ ।
नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रमसमेत निर्माण, निर्देशन गर्नुभएका गिरीले केही म्युजिक भिडियोको निर्देशनसमेत गर्नुभएको छ । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ ।
यस्तै, सेन्सर बोर्ड सदस्यमा कलाकार भीमा मैनाली नियुक्त हुनुभएको छ । दुई दशक लामो चलचित्र करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गर्नुभएको छ । उहाँले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिनुभएको थियो । यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त हुनुभएको छ ।






