‘गजल गायनको स्वर्ण दशक’ दोस्रो वर्षमा

काठमाडौं,
जेठ २२ ।

नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक, विसं २०८०-२०९० दोस्रो वर्षमा प्रवेश गरेको छ । मंगलबार काठमाडौंमा यस अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठको संगीत र स्वरमा आधा दर्जन गजल प्रत्यक्ष गायन गरिएको थियो ।

डा.भोजराज घिमिरे, देवेन्द्र केसी ‘देवु’, नारायण नेपाल, राधा कणेल, आँचलकुमार शर्मा र घनेन्द्र ओझाका गजल श्रेष्ठले प्रत्यक्ष गायन गर्नुभएको थियो । गजलकार, गजल अभियन्ता ओझा र श्रेष्ठले गत वर्ष १९ जेठ २०८१ मा यो अभियान घोषणा गर्नुभएको थियो । यसबीचमा काठमाडौंमा आधा दर्जन र काठमाडौंबाहिर करिब आधा दर्जन गजल गायनका कार्यक्रम भइसकेका अभियन्ता ओझाले जानकारी गराउनुभयो । उहाँले अब सातै प्रदेशमा यस अभियानलाई लगिने र यो दशकलाई नेपाली गजल गायनको साँच्चै स्वर्ण दशक बनाइने बताउनुभयो ।

अर्का अभियन्ता श्रेष्ठले गजल गायनको स्वर्ण दशक अभियान भएकाले यसमा सबैको साथ, सहयोग, हौसला र प्रेरणा आवश्यक रहेको सुनाउनुभयो । गजलकार करुण थापाले नेपाली गजल लेखनसँगै गायनमा पनि परिष्कृत हुनुपर्ने धारणा राख्नुभयो । थापाले यो अभियानले लेखनसँगै गायनमा पनि परिष्कार र नयाँपन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

गजलकार एवं संगीत मर्मज्ञ रवि प्राञ्जलले गजल लेखनमा निश्चित संरचना, विधिविधान हुने भन्दै तिनको पालना गरी लेखिएका गजललाई संगीतमा ल्याउनु चुनौती हुनसक्ने तर साधनाले त्यो सफल हुने भन्दै हौसला दिनुभयो । प्राञ्जलले गजल संगीतका विभिन्न तरिका र शैली हुन सक्ने बताउनुभयो । गजलकार डा.भोजराज घिमिरेले यस्ता अभियानलाई संस्थागत गर्दै नयाँ पुस्ता समेटेर अघि बढ्न सुझाव दिनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार