‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै

काठमाडौं,
जेठ १५ ।

चलचित्र ‘महाभोज’ को जेठ १५ गतेका लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको छ । देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडरियाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउनुभएको हो । विज्ञप्तिमा भनिएको छ- ‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।’

चलचित्रप्रति दर्शकले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्नुभएको छ । उहाँले अवस्था सामान्य भएपछिको पहिलो सम्भव समयमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी पनि दिनुभएको छ ।

‘महाभोज’ लामो समयदेखि प्रचारमा रहेको र सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको नेपाली चलचित्र हो । प्रदर्शन मिति स्थगित भएसँगै दर्शकहरूमा केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको शीर्ष अभिनय हुनुहुन्छ । सहकारी संस्थासम्बन्धी एउटा सामाजिक विषयवस्तुमा चलचित्र आधारित छ । सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने परिस्थितिलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रको निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार