काठमाडौं,
जेठ १५ ।
मिस युनिभर्स नेपाल २०२५ को आवेदन खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा प्रतियोगिताको नयाँ सिजन घोषणा गरिएको हो । कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीले सम्पूर्ण ब्रहृमाण्डमा नेपाली महिलाहरूको असिम क्षमता उजागर गर्ने प्लेटफर्म भएको बताउनुभयो ।
प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो ।’ यो वर्ष प्रतियोगिता आठ भागमा आधारित रियालिटी टिभी शो को रूपमा प्रस्तुत गरिने जनाइएको छ । यस माध्यमबाट दर्शकहरूले प्रतियोगीहरूको यात्रा, चुनौती र परिवर्तनलाई नजिकबाट अनुभव गर्न सक्नेछन् ।
दर्ता प्रक्रिया जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ । इच्छुक सहभागीले खल्ती एप, मिस युनिभर्स नेपालको वेभसाइट वा सोसल मिडिया प्लेटफर्म मार्फत दर्ता गर्न सक्नेछन् । सहभागी महिला कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ । प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध नराखिएको आयोजकले जानकारी दिएको छ । नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
कार्यक्रममा मिस युनिभर्स नेपाल २०२५ सम्पदा घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका देश निर्देशक नुमान ओजकान, मिस युनिभर्स राष्ट्रिय निर्देशक संगीता पुरी, कोरियोग्राफर दिक्पाल कार्की तथा मिस युनिर्भ नेपालकी अध्यक्ष साबी पुरीको विशेष उपस्थिति थियो ।
प्रतियोगिताका टप प्रतिस्पर्धीहरूले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्नेछन् भने भदौमा क्लोज क्याम्प सञ्चालन हुनेछ । ग्राण्ड फिनाले भदौमा महिनामा आयोजना गरिनेछ । मिस युनिभर्स नेपालले यस वर्ष समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्य गर्ने घोषणासमेत गरेको छ ।






