इलाम,
जेठ ११ ।
चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिका सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित ‘बाल चलचित्र महोत्सव, इलाम’ सम्पन्न भएको छ । यही जेठ ५ देखि सुरु भएको महोत्सव शुक्रबार समापन भएको हो । समारोहमा सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वय रहेको थियो । महोत्सवले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
महोत्सवमा बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामार्फत ३७ जना विद्यार्थीलाई चलचित्र लेखन, निर्देशन र अभिनयको व्यावहारिक प्रशिक्षण दिइइको थियो । विशिष्ट कलाकार बद्री अधिकारीको निर्देशनमा उनीहरूको लेखन र अभिनयमा तयार लघु चलचित्र ‘हजार सपनाहरू’ को प्रभावशाली प्रदर्शनले सिर्जनशीलता र आत्मविश्वासको सन्देश दिएको थियो ।
सिनेमा साक्षरता अभियानअन्तर्गत घुम्ती सिनेमा इलाम बजार र श्रीअन्तु विद्यालयहरूमा सडकछेउमा प्रदर्शन गरिएको थियो, जसमा सर्वसाधारणदेखि विद्यार्थी र अभिभावकले चलचित्र हेर्ने नयाँ अनुभव पाएका थिए । इलामकी फुटबलर एन्जिला तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ निर्माता तथा निर्देशकको उपस्थितिमा इलाम बजार चोकको एलइडी स्कृनमा प्रदर्शन गरिएको थियो ।
यस्तै, बाल चलचित्र प्रदर्शनीअन्तर्गत ‘शिलावाला’, ‘घुर्रा’, ‘द स्कुल वाल’ र ‘पाउलो’ चलचित्रहरू गौतम बुद्ध हलमा प्रस्तुत गरिएको थियो ।
सेलिब्रेटीसँग बालबालिका अन्तर्गत विशिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, श्रीदेव भट्टराई, बालकृष्ण निरौला, दिनेश डिसी, जनकदीप पराजुली, पुनम क्षेत्रीलगायतले बालबालिकासँग खुला संवाद गर्नुभएको थियो ।
समापन समारोह इलाम नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित इलाम नगरपालिकाका मेयर केदार थापा, उपमेयर विष्णुकुमारी लिम्बु, वडाध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक-विद्यार्थी, अभिभावक तथा विशिष्ट कलाकार र चलचित्रकर्मीको सहभागिता रहेको थियो ।
इलाम नगरपालिका परिसरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन दुई चलचित्र घरको प्रवद्र्धनमा समेत यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । ‘इलामको सांस्कृतिक र प्राकृतिक सुन्दरतालाई चलचित्रमार्फत देशविदेशमा चिनाउन यस्ता महोत्सव प्रभावकारी छन् । यहाँ छायांकन गर्न चाहने चलचित्रकर्मीलाई नगरपालिकाले पूर्ण सहजीकरण गर्छ’, समापन समारोहमा बोल्दै मेयर थापाले भन्नुभयो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सिनेमाले सिर्जनामात्रै होइन, शिक्षा र पर्यटनलाई पनि समेट्न सक्छ भन्ने उदाहरण इलामको महोत्सवले प्रस्तुत गरेको बताउनुभयो । यो महोत्सव कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचारप्रसारमा सहयोगी हुने उहाँले विश्वास लिएको बताउनुभयो । पर्यटन प्रवद्र्धनमा सेलीब्रेटीहरूले ‘चलचित्र छायांकनका लागि इलाम’ लेखिएको टिसर्ट लगाएर इलामको भ्रमण गरेका थिए ।
चलचित्र विकास बोर्डको नेतृत्वमा सम्पन्न यो महोत्सवले बालबालिकाको सिर्जनात्मक क्षमता विकास, स्थानीयस्तरमा सिनेमा चेतना अभिवृद्धि र इलामको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।






