मध्यपूर्वका देशहरूमा एकसाथ प्रदर्शनमा ‘जार’

काठमाडौं,
जेठ २ ।

नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ले मध्यपूर्वका देशहरूमा बिहीबारबाट एकसाथ प्रदर्शन थालनी गरेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट चलचित्रको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको छ ।

निर्देशक फुर्वाछिरिङ लामाले युएईका सहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलहरूमा फिल्म प्रदर्शनमा आएको बताउनुभयो । यस्तै कतारको दोहा, बहराइनको मनामा लगायतका सहरहरूमा चलचित्र एकसाथ प्रदर्शनीमा आएको हो ।

शुक्रवारबाट यो चलचित्रको युएसए, युके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा प्रदर्शनी तय भएको निर्देशक लामाले जानकारी गराउनुभयो । ‘नेपाल र भारतमा हाम्रो चलचित्र हेर्ने जति पनि दर्शक हुनुहुन्छ उहाँहरूले र फिल्म समीक्षकहरूबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ,’ लामाले भन्नुभयो, ‘डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीहरूबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा छ ।’

यो चलचित्रले सार्वजनिक प्रदर्शनयता नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको छ । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले दुई सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ ।

चलचित्रमा अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार