‘सिनेपा’ चलचित्र छायांकन स्टुडियोको आरम्भ

काठमाडौं,
वैशाख ३१ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुडियोको आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो । बयालीस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायांकन स्थल हुनेछ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुभयो । उहाँले काभ्रेको बनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दशकदेखि आवाज उठाउनु परे पनि अब बन्ने प्रक्रिया अघि बढेको बताउनुभयो । प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अबरुद्ध भएको थियो ।

बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले हप्ता–१० दिनभित्र त्यसको छानविन गरी प्रतिवेदन दिन निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले दोलखाको फिल्म सिटी बनाउन फिल्म जगत लागेको बताउँदै आफूले पालुङटारमा फिल्म सिटी बनाऔं भनेर भनेको बताउनुभयो । ‘त्यहाँ गजब हुन्छ । पालुङटारमा फिल्म सिटी बन्दा चलचित्रकर्मीलाई छायांकनका लागि धेरै फाइदा हुन्छ’, प्रधानमन्त्री ओलीले ‘विदेशी फिल्मलाई पनि लोभ्याउन सकिन्छ ।’ प्रधानमन्त्री ओलीले पालुङटारमा फिल्म सिटी बनाउने भनेर आफुले कलाकारलाई बुझाउन नसकेको धारणा राख्नुभयो । उहाँले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ अभिनेता नीर शाह, वसुन्धारा भुसाललगायत सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

अन्य समाचार