काठमाडौं,
वैशाख १८ ।
गीतकार सुमन पण्डित ‘बैरागी’को शब्द तथा संगीत सिर्जना रहेको राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’ सार्वजनिक भएको छ । गायिका सुनिला गुरुङको प्रस्तुतिमा कृष्ण केसी र सुनिला गुरुङको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा गायिका सुनिला गुरुङको पनि शब्द परिकल्पना रहेको छ । गायक कृष्ण केसीकै संगीत संयोजन रहेको यस गीतको मिक्सिङ श्यामश्वेत रसाइलीले गर्नुभएको हो । प्रिज्मा स्टुडियोमा रेकर्डिङ भएको यो गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गर्नुभएको हो भने टेकेन्द्र शाहको सम्पादन छ ।
गीतलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकै स्टेजमा सार्वजनिक गर्नुभएको हो । भूकम्प दिवसको अवसर पारेर गोरखाको बारपाकमा आयोजित कार्यक्रमबाट गीतको भिडियो सार्वजनिक गरिएको थियो । गीत सार्वजनिकपछि बोल्दै गीतले समग्र राष्ट्र र राष्ट्रियताको भाव बोलेको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले गीतको प्रशंसा गर्नुभएको थियो ।
‘बुद्धभूमि’ गीत समग्र देशको वर्तमान परिस्थितिलाई छर्लंग उजागर गर्ने गीत बनेको पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘बुद्धभूमि’ गीतको शब्द सिर्जनाले नेपालको वर्तमान परिस्थितिसँगै बाँझो जमिन बनाएर विदेशिनेदेखि राजनीतिक नेतृत्वसम्मको कथालाई बोकेको बताउनुभयो ।
‘बुद्धभूमि’ गीतले बुद्धको जन्मभूमि लुम्बिनी र सगरमाथाको देशको यथार्थ चित्रण गरेको छ । राजनीतिक दलहरूले विदेशीको इशारामा चल्न हुन्न भन्ने सन्देशदेखि बाँझो जमिन छाडेर विदेशीको मेसिन बनिरहेका युवापुस्तालाई सम्बोधन गरेको गीत बनेको छ । वर्तमान नयाँ पुस्तालाई आफ्नो भूगोल, देशका सीमानाका बारेमा इतिहास पठाउनुपर्ने र देशको नयाँ मार्गचित्र कोर्नका लागि यो गीतले सन्देश बोकेको छ ।






