काठमाडौं,
वैशाख १८ ।
चलचित्र ‘बिगुल’ को शुभमुहूर्त गरिएको छ । अक्षय तृतियाको शुभअवसर पारि बुधबार कोटेश्वर महादेवस्थानमा यो चलचित्रको शुभमुहूर्त गरिएको हो । रमेश कोइरालाको निर्देशनमा यही वैशाख तेस्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त सटमा बेनिशा हमाल र नरेन खड्काले अभिनय गर्नुभएको थियो ।
समाजीक जागरण,समसामयिक राजनीति, आमनागरिकको कर्तब्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको ‘बिगुल’ को मुहुर्त सटको क्यामेरा स्वीच अन चलचित्र बिकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले गर्नुभएको थियो भने निर्देशक प्रदीप श्रेष्ठले क्ल्याप हान्नुभएको थियो । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडनुभएको थियो । अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरुपको संवाद बोल्नुभएको थियो भने संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाउनुभएको थियो ।
दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा, सम्वाद रहेको यो चलचित्रलाई शिब ढकालले छयांकन गर्दै हुनुहुन्छ । कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला रहनुभएको छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा बेनीशा र नरेनका साथमा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमीरे, सुमोद भारद्वाज, बिनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारीका साथमा बालकलाकार श्रेयान्सी थपलीयाले अभिनय गर्दै हुनुहुन्छ ।
चितवनबाट छायांकन सुरु गरिने यो चलचित्रका गीतमा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रको निर्माण ब्यबस्थापकमा श्याम केसी हुनुहुन्छ । मुहूर्त समारोहमा नेपाल जेसिसका पूर्व अध्यक्ष फूलकुमार लालवानी, त्रिभुवन बिश्वबिद्यालयका पूर्व सहायक डिन बिष्णुहरि कोइराला, नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मी बिलास कोइराला, चितवन काठमाडौं सम्पर्क समाजका अध्यक्ष ऋषिश्वर थपलिया, निर्देशक ऋषि लामीछानेलगायतका व्यक्तिहरूको उपस्थिति थियो ।






