काठमाडौं,
वैशाख ७ ।
साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’को कथासंग्रह ‘फिर्दोसको साँचो’को लोकार्पण गरिएको छ । उक्त कथासंग्रहको शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा एक विशेष समारोहबीच लोकार्पण गरिएको हो । मञ्चमा आसीन प्रमुख वक्ता वरिष्ठ समालोचक प्राडा.रामप्रसाद ज्ञवाली, प्राडा.अर्चना थापा, समालोचक स.प्रध्यापक अनुपमा रेग्मी, सप्राडा.अशोक थापा, स्रष्टा राजबाबु श्रेष्ठ ‘सागर’ र कार्यक्रम सञ्चालक तथा मेडियाकर्मी हेम भण्डारीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमा स्वागत मन्तव्य कथाकार तथा समालोचक डा.अशोक थापाले राख्नुभएको थियो ।
कृति ‘फिर्दोसको साँचो’को बारेमा बोल्दै प्रथम वक्ता समालोचक अनुपमा रेग्मीले यस संग्रहभित्र निकै सशक्त कथाहरू भएका र विभिन्न कोणबाट चित्रण गरिएका हुँदा थोरै समयभित्र कथालाई न्याय गरी बोल्न नसकिने बताउनुभयो । उहाँले कथाभित्र लेखकका निकै गहिरो र विभिन्न कोणबाट उत्पिडन, जातीय विभेद, लैगिंक विभेद र स्वेरकल्पनाको सशक्त नयाँ प्रयोग शैलीका लेखनले गर्दा पनि पाठकपठनमा आकर्षित हुन्छन् भन्ने कुरामा जोड दिनुभएको थियो ।
वरिष्ठ समालोचक डा.अर्चाना थापाले ‘मलाई बुझेर पढ्न अलि समय लाग्ने हुँदा, समयमा मेरो हातमा पुस्तक नपर्दा न्याय गरी पढ्न नपाएको भन्दै उहाँका सबै कथाहरू राम्रा छन् भन्नुभयो । कथाहरूमा प्रशस्तै स्वेरकल्पना प्रयोग गरी अन्त्यमा पाठकलाई सँगै पार्ने कला आफूलाई निकै मन परेको सुनाउनुभयो । उहाँले नारीको सौन्दर्य वर्णन अलि अश्लील पाराले गरिएको हो कि भन्ने लागेको बताउनुभयो ।
त्यसैगरी वरिष्ठ समालोचक प्राडा.ज्ञवालीले लेखकका रोमान्टिक लेखकत्व परिचय दिँदै कथाहरूमा प्रशस्तै स्वरैकल्पना प्रयोग गर्दै वाद, सिद्धान्त, कहीँ यतार्थवाद र कहीँ अतियथार्वादको शैली प्रयोग भएको बताउनुभयो । उहाँले संग्रहीत दश कथाहरूमध्ये सबैभन्दा सशक्त कथा ‘खामभित्रको चिठठी’ रहेको जिकिर गर्नुभयो । ‘निर्जला’ कथामा सम्पत्ति नभएपछि बाहुनले मात्रै थिचोमिचो गर्ने होइन कि बाहुन जाति पनि निरीह भएपछि दलितहरूको बाहुलता र वर्चस्वको कारण उनीहरू पनि हेपिनु र थिचिनु पर्दोरहेछ समाजमा भन्ने कुरा लेखकले राम्रो गरी उजागर गर्न खोजिएको उहाँले बताउनुभयो । ‘धेरै कथाकारहरू कथाको उठान निकै सशाक्त रूपले गर्छन् तर विश्राममा भने सशक्त गर्न सक्दैनन् । त्यसर्थमा भन्दा राजबाबुजी निकै सफल रहेका छन् र लेखक कमजोर र पीडितका पछमा झुकाव राख्ने देखिन्छन्’, यहाँले भन्नुभयो ।
लेखक राजबाबुले समालोचक प्राडा.अर्चना थापाले उठाउनुभएको सौन्दर्यको सवालमा सूर्य अथवा उज्यालो थियो र त आँखाको निर्माण भएको हो । आँखाको काम भनेको दृश्यपान गर्ने हो । जे देखिन्छ त्यही लेख्ने हो । नारी पात्रलाई चित्रण गर्दा पात्रको सौन्दर्य, चरित्र, घटना, परिवेश र स्थानीय संस्कृति र वर्णन आदिलाई छोपेर लेख्दा कथा आफैंमा पूर्ण, रोचक र पठनीय हुँदैन । सर्प हिँड्न त सिधंै हिँडेको हुन्छ तर देख्नेले के देख्छभन्दा सर्प जिग्ज्याग हिँडेको देखिन्छ । त्यो त उसभित्र पकृतिले दिएको नेचुरल स्वभाव रहेको जिकिर गर्नुभयो । उहाँले कथासंग्रह पढेर प्रतिक्रिया दिन आमपाठकलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा सभाध्यक्ष र प्रमुख अतिथि रखिएको थिएन । यसलाई धेरैले नयाँ प्रयोग र पहिलो साहित्यिक लोकार्पण कार्यक्रम भनेका थिए । कार्यक्रममा सहभागी हुने लगभग ९५ प्रतिशतले पुस्तक किनेर लेखकसँग हस्ताछर गराएका रहरलाग्दा दृश्य पनि देएिको थियो । यो कृतिलाई ‘इन्डिगो इन्क’ प्रकाशनले पाठकमाझ ल्याएको हो ।
साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’का यसअघि ‘बन्द फ्रेमभित्रको चिठ्ठी’, ‘हराएका छोराहरू’, ‘देशको चिना’, ‘यादका बस्तीहरू’ जस्ता कृतिहरू पाठकमाझ आएका छन् ।






