काठमाडौं,
चैत १ ।
नयाँ वर्ष २०८२ को छेको पारेर यही चैत २९ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक दुई मिनेट लम्बाईको टिजरमा अभिनेता विपिन कार्कीको एक्सन अवतारमा देखिनुभएको छ । उहाँको पात्रमा बदलाको भाव देखिन्छ । विपिनको यो पहिलो एक्सन चलचित्र हो ।
टिजरमा कथावस्तु प्रष्ट खुलाइएको छैन । यद्यपि, एक पात्रले आर्मी बन्न गरेको संघर्ष र त्यस क्रममा उसको जीवनमा घट्ने विभिन्न घटनाक्रमलाई चलचित्रले मुख्य कथावस्तु बनाएको संकेत टिजरले गर्छ । विपिनलाई केही दृश्यमा भावुक देख्न सकिन्छ ।
सौरभ चौधरीले यो चलचित्र निर्देशन गर्नुभएको हो । यसअघि उहाँले ‘अगस्त्य’ निर्देशन गर्नुभएको थियो । चलचित्रमा विपिनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ । चलचित्रमा मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेत लगायत कलाकारको अभिनय छ । मुकुनले यसमा नकारात्मक भूमिका निभाउनुभएको छ ।
वसन्त लम्सालको लगानी रहेको चलचित्रमा निर्देशक चौधरी स्वयंको कथा छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई संजय लामाले खिच्नुभएको हो । यसमा भाष्कर स्वाँरको संगीत निर्देशन तथा ब्याकग्राउन्ड म्युजिक, श्रीश्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी तथा निमेष श्रेष्ठको सम्पादन छ । ‘कर्मा’लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण गर्नेछ ।






