काठमाडौं,
फागुन २७ ।
चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ । झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको यो चलचित्रको सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई प्रस्तुत गरिएको छ ।
टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ । यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ ।
चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठलगातका कलाकारको अभिनय छ । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र साउण्ड मिक्सिङ उत्तम न्यौपानेको रहेको ‘झिल्को’ को कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पार्नुभएको हो ।
चलचित्रमा आनन्द अधिकारीको गीत चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर छ । मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभीले निर्माण सहकार्य गरेको यो चलचित्र वैशाख १९ गतेदेखि सिनेमाघरमा आउँदैछ ।






