काठमाडौं,
फागुन १८ ।
चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको उपस्थिति, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङबीच शनिबार द्विपक्षीय सम्झौता भएको हो ।
यो सम्झौताअन्तर्गत दुवै निकायले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेका छन् । विशेषगरी चलचित्रको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे जनचेतना फैलाउने योजना अघि सारेको छ । यस अवसरमा अध्यक्ष डिसीले लागूऔषधविरुद्धको अभियानलगायत समाज परिवर्तनको कुराहरूलाई सशक्त रूपमा अघि बढाउन चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नागरिक समाजका अगुवाहरू र नेपाल प्रहरीका विशिष्ट श्रेणीका व्यक्तित्वहरूको साथमा कलाकारहरू सरोज खनाल, प्रदीप खड्का, रविन्द्र खड्का, पुष्कर लामा, सृष्टि खड्का, गायिका सुनिता दुलाल, इन्दिरा जोशीलगायतको सहभागिता थियो ।






