काठमाडौं,
फागुन १७ ।
नेपाल चलचित्र कलाकार संघका पूर्वमहासचिव तथा कलाकार चेतबहादुर सिंह ‘राजा’ को निधन भएको छ । उहाँको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो । चलचित्र निर्मातासमेत रहनुभएका कलाकार सिंह पछिल्लो केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँ पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित हुनुहुन्थ्यो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका कलाकार सिंहको उपचारकै क्रममा निधन भएको हो ।
०५८ को चर्चित चेतनामूलक टेलिशृंखला ‘थोरै भए पुगिसरी’मा अभिनय गरी औपचारिकरूपमा कलायात्रा सुरु गर्नुभएका उहाँले आफ्नो अलग पहिचान बनाउनुभएको छ । विसं ०२७ मा बझाङमा जन्मिनुभएका चेतले ‘तीतो सत्य, फिरन्ते, मेरी बास्सै, यातना, उद्घाटन’ लगायत टेलिशृंखला र ‘लाल सलाम, शहीद, देवयानी, दलाल, सुनपानी’ जस्ता फिचर चलचिमा अभिनय गर्नुभएको । उहाँले चलचित्र ‘सुनपानी’ निर्माण गर्नुभएको थियो । यसबाहेक विभिन्न म्युजिक भिडियोमा पनि उहाँले मोडलिङ गर्नुभएको थियो ।
अभिनयको हास्यविधामा रुचि राख्ने चेतले कलाक्षेत्रमा पुर्याएको योगदानका लागि कलाक्षेत्रसँग सम्बन्धित अनेक पुरस्कार तथा सम्मान हासिल गर्नुभएको छ । सरकारी सेवामा रहेर पनि कलाकारिताका साथै समाज सेवामा समेत सक्रिय चेत आफ्नो मिलनसार एवं फरासिलो स्वभावका कारण मित्र-मण्डली एवं कलाकर्मीमाझ सर्वप्रिय हुनुहुन्थ्यो ।






