काठमाडौं,
फागुन १३ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा ‘सिनेमा संवाद एट घलेगाउँ’ सम्पन्न भएको छ । प्रख्यात कलाकारदेखि देशैभरिका थुप्रै पत्रकारको उपस्थिति रहेको उक्त संवादमा चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भएको थियो । उक्त सिनेमा संवाद सुन्न घलेगाउँबासीको समेत उल्लेख्य उपस्थिति थियो ।
संवादको पहिलो सेसनमा ‘सिनेमामा आदिवासी र सीमान्तकृतको स्वर’ रहेको थियो । जसमा निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदीले वक्ताको भूमिका निवार्ह गरेका थिए, भने प्रस्तुतकर्ताको भूमिकामा पत्रकार दीपक परियार रहनुभएको थियो ।
उक्त सेसनमा सिनेमामा अझै उनीहरूको स्वर दबाइने भएकाले आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको वक्ताहरूको भनाइ थियो । यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उनीहरूको जिकिर थियो ।
दोस्रो सेसन ‘सिनेमामा संगीत कति मौलिक, कति आधुनिक ?’ रहेको थियो । उक्त सेसनमा संगीतकार शम्भुजित बाँस्कोटा, वसन्त सापकोटा र प्रकाश सपुत गरी तीन पुस्ताका कलाकार गफिए । जसमा सहजीकरणको रूपमा रिमा विश्वकर्मा रहनुभएको थियो ।
सिनेमा संवादको तेस्रो सेसनः ‘रिलदेखि एआईसम्म’ रहेको थियो । उक्त सेसनमा हुनुहुन्थ्यो, सदाबहार अभिनेत्री करिष्मा मानन्धर । उहाँको साथमा हुनुहुन्थ्यो, अहिलेका पुस्ताका कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने । सुव्रत आचार्यले उक्त सेशनको सहजीकरण गर्नुभएको थियो । सिनेमा संवादको अन्तिम सेसनमा हुनुहुन्थ्यो, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी । उक्त सेसनमा सहजकर्ता पत्रकार अमृत सुवेदी रहनुभएको थियो ।
चलचित्र पत्रकार संघ कास्कीका कार्यबहाक अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गर्नुभएको थियो । कार्यक्रम उद्घाटनमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, संघका केन्द्रीय अध्यक्ष समीर बलामी, संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ ।






