श्याडो सपोर्ट फाउण्डेशनको औपचारिक उद्घाटन

काठमाडौं,
फागुन ७ ।

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा सञ्चालन हुन लागेको श्याडो सपोर्ट फाउण्डेशनको औपचारिक उद्घाटन गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुवेदीले विभिन्न कार्यक्रमबारे प्रकाश पार्दै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको जीवन सुधार गर्ने योजना प्रस्तुत गर्नुभएको थियो । फाउण्डेशनले समाजमा सकारात्मक प्रभाव पार्ने र मानिसको दैनिक जीवन तथा ब्यवसायलाई मजबुत बनाउने लक्ष्य राखेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सहसंस्थापक तथा निर्देशक मण्डलका सदस्य चरण सुवेदीले श्याडो सपोर्ट फाउण्डेशनको लक्ष्य, उद्देश्य र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । सुवेदीले फाउण्डेशनले समाजका कमजोर वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै उनीहरूको जीवनमा आशा तथा अवसरको उज्यालो ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

निर्देशक मण्डलका सदस्य नारायण भारतीले कार्यक्रममा आएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने संस्थाका कार्यक्रम निर्देशक भीम सुवेदीले संस्थाले अघि सारेका कार्यक्रमहरू, नेपाली कला कक्षा, पुस्तकालय पोर्टल, तथा नेपाली भाषा कक्षासम्बन्धी विस्तृत जानकारी दिनुभएको थियो ।

संस्था बारे थप प्रष्ट पार्दै सुवेदीले भन्नुभयो ‘श्याडो सपोर्ट फाउण्डेशनले समुदायहरू र सामाजिक विषयमा वैज्ञानिक अनुसन्धान सिद्धान्त अनुसार अध्ययन गर्नेछ । यस अनुसन्धानबाट प्राप्त निष्कर्षहरू फाउण्डेशनको वेबसाइटमा प्रकाशित गरिनेछ, जसले विद्यार्थी र सर्वसाधारणलाई निःशुल्क पहुँच प्रदान गर्ने हाम्रो प्रयास हो ।’

श्याडो सपोर्ट फाउण्डेशन नितान्त परोपकारी, शैक्षिक, स्वास्थ्य, अनुसन्धान तथा सामाजिक सेवाका उद्देश्यले स्थापित गरिएको संस्था हो । यस फाउण्डेशनले अमेरिका र अन्य मुलुकमा सामाजिक सेवा, मानवअधिकार, स्वास्थ्य तथा शिक्षा प्रबद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाको मुख्य उद्देश्य समाजका उपेक्षित समुदायका व्यक्तिलाई आशा प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार गर्नु हो ।

कार्यक्रममा संस्थाका सदस्य रोविन विष्ट, डिल्लि चाम्लागाईं, राधा तिम्सिना, योगेश नेपाल, पाण्डु नेपाल, चन्द्र खड्का र इरी, हृयारिसबर्ग, ल्यांकास्टर, स्क्रान्टन लगायतका स्थानका प्रतिनिधिहरूको विशेष उपस्थिति थियो ।

भूटानी अमेरिकी समुदायका अगुवाहरू सञ्चमान राई, विकास राई, रूप पोखरेल, ज्ञाम अधिकारी, अशोक राई, टेक रिमाल, गंगा बराल, जीवन सुब्बा, प्रलाद मिश्र, टीबी गुरुङ, कुमार ओदारी, केएन तिम्सिना र शान्ता शर्माको उपस्थितिसँगै मन्तव्यले पनि कार्यक्रमको मुख्य आकर्षण जनाएको थियो । उहाँहरूको सहभागिताले संस्थाको उद्देश्यलाई थप बल प्रदान मिलेको चरण सुवेदीले खुशी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीका जिज्ञासा समाधान गर्न अध्यक्ष मेग सुवेदी, चरन सुवेदी र रोविन विष्टले प्रश्नोत्तर सत्र सञ्चालन गर्नुभएको थियो । उक्त अन्तरक्रियात्मक छलफलले सहभागीलाई संस्थाका लक्ष्य तथा कार्यक्रमबारे थप जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको थियो ।

संस्थाले हाल सञ्चालनमा ल्याएका प्रमुख कार्यक्रमहरूमा नेपाली भाषा संरक्षण, साहित्य, आधारभूतदेखि उन्नत तहसम्मको कम्प्युटर कक्षा, कला तथा चित्रकला कक्षा, युवा नेतृत्व तथा संलग्नता कार्यशाला गर्दै आएको चरण सुवेदीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार