काठमाडौं,
फागुन ६ ।
ललितपुर महानगरपालिका-१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि चुम्नुभएको छ । नेप्लीज फेसन होमले कमलादीस्थित प्रज्ञा भवनमा आयोजित समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै प्रलिशाले आकर्षक क्राउनसहित यो उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । ‘मिस नेवाः ११४५’ को उपाधिसहित प्रलिशाले नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरु प्राप्त गर्नुभएको छ ।
नाथम कलेजबाट पर्यटन विषयमा स्नातक उत्तिर्ण गर्नुभएकी प्रलिशा अहिले नेपाल दर्शन कम्प्लिट टुरिजम प्रालिमा कार्यरत हुनुहुन्छ । यो प्रतियोगितामा प्रलिशाले बेस्ट नेपाल भाषाको टाइटल अवार्डसमेत जित्न सफल हुनुभएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न नगरपालिका तथा जिल्लाबाट आएका २० जना प्रतिस्पर्धिबीचको यो प्रतियोगितामा चन्द्रागिरी नगरपालिका, नैकापकी लूनिभा मानन्धरले फस्ट रनर्सअपको उपाधि जित्नुभयो भने चमती, काठमाडौंकी लुमना महर्जनले सेकेण्ड रनर्सअपको उपाधिमा जित्न सफल हुनुभयो । उहाँहरूले क्रमशः २५ हजार रुपैयाँ तथा १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्नुभयो ।
प्रतियोगिताका अन्य विजेतातर्फ श्रद्धा महर्जनले मिस ट्यालेन्टका साथमा सोसल वेलफेयर सेकेण्ड रनर्सअपको उपाधि पनि जित्नुभयो भने अनुश्री शाक्यले मिस ट्यालेन्ट फस्ट रनर्सअप तथा श्रीया मानन्धरले मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपको उपाधि जित्नुभयो । प्रतियोगितामा रोनिशा महर्जनले सोसल वेलफेयर एम्बासडर चिफको उपाधि जित्नुभयो भने डिबिना डंगोलले सोसल वेलफेयर एम्बासडर फस्ट रनर्सअपको उपाधि जित्नुभयो । यस्तै, प्रसिद्धि शाक्यले मिस डिसिप्लिनको उपाधि जित्नुभयो भने अल्पा महर्जनले मिस पब्लिक च्वाइसको अवार्ड जित्नुभयो ।
प्रतियोगिताका अन्य अवार्डहरूमध्ये प्राश्ना श्रेष्ठले बेस्ट ड्रेस, रितिशा बज्राचार्यले मिस कल्चर, संस्कृति श्रेष्ठले मिस कन्फिडेन्ट, सुभेक्षा श्रेष्ठले मिस पर्सनालिटी, रिम्षा श्रेष्ठले बेस्ट हेयर, रमुना बज्राचार्यले बेस्ट स्किन, कुन्ता श्रेष्ठले मिस फोटोजेनिक, अनुषा बज्राचार्यले बेस्ट स्माइल, शुवास्ना श्रेष्ठले मिस चार्मिङ तथा रुजी शाक्यले मिस फ्रेण्डशीपको उपाधि जित्न सफल हुनुभएको थियो ।
प्रतियोगितामा सरस्वती मल्टिपल क्याम्पसका प्रमुख दिव्या लक्ष्मी बज्राचार्य मुख्य निर्णायकको रुपमा रहनुभएको थियो । प्रतियोगितामा अधिवक्ता तथा माँ बगलामुखी कोअपरेटिभका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स इन्टरनेश्न्ल क्लब ३२५ एलका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मणिश्री रत्न बज्राचार्य, एलसीसीएल, ललितपुरका पूर्व अध्यक्ष अजर मान जोशी, नमूना कलेज अफ फेसन टेक्नोलोजीका उपप्रमुख जीवेश्वर लाल श्रेष्ठ, नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित, एसओ नेपालका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ तथा मिस नेवाःनेपा ११३४ की विजेता एलिशा बज्राचार्य निर्णायकको रुपमा रहनुभएको थियो ।
आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः ब्यूटी कन्टेस्ट मात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियानसमेत रहको र यस्तो अभियान नेवार समुदायमा मात्र नभएर हरेक समुदायमा हुनुपर्ने बताउँदै प्रतियोगिताले नेवारी कला र संस्कृतिलाई उजागर गर्ने प्रयास रहेको उल्लेख गर्नुभयो । प्रतियागिताका सह-आयोजक फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिलकुमार महर्जनले मिस नेवाः ११४५ भव्यतापूर्वक सफल भएको बताउँदै यसले नेवार समुदायका प्रतिभाशाली चेलीहरूको प्रतिभा, नेवारी कला, संस्कृति तथा भाषालाई उजागर गर्न सफल भएको बताउनुभयो ।
रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफीमा आयोजित प्रतियोगितामा राजु नापित नेपाल भाषा तथा लिपी प्रशिक्षकको रुपमा रहनुभएको थियो । मिस नेवा ११४१ की विजेता कृषा महर्जनको मुख्य संयोजनमा सम्पन्न भएको यो प्रतियोगितामा मिस नेवाः ११४३ की विजेता सकिना मजर्हन तथा सोसल वेलफेयर एम्बासडर चिफ ११४३ तिमिला महर्जन संयोजकको रुपमा रहनुभएको थियो ।
प्रोफेसर डाक्टर बिमला शाक्यको सभापतित्वमा आयोजना गरिएको यो प्रतियोगितामा पूर्व अर्थमन्त्री पशुपति शमसेर जबरा प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । सो अवसरमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो ।
समारोहमा उप्रेती समाज सेवा समितिका अध्यक्ष सोबित उप्रेती, नमूना कलेज अफ फेसन टेक्नोलोजीका फाउन्डर/प्रिन्सिफल ज्ञानी शोभा तुलाधर, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, ललितपुर महानगरपालिका-१६ का वडाध्यक्ष निर्मल रत्न शाक्य, काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल, काठमाडौं महानगरपालिका वडा नम्बर-१८ का वडाध्यक्ष नुच्छेकाजी महर्जन, चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र महर्जन, डिस्ट्रिक्ट गभर्नर ३२५के निरा बज्राचार्य, व्यूटिसियन सोनी कारञ्जित विशेष अतिथिको रुपमा रहनुभएको थियो ।






