काठमाडौं,
माघ २९ ।
फागुन १४ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिनुभएको छ । बालेनले कुनै पनि चलचित्रका लागि पहिलोपटक स्वर दिनुभएको हो । बालेनको स्वर, संगीत र शब्द रहेको गीत ‘नेपाल हासेको’ सोमबार सार्वजनिक गरिएको हो ।
गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय छ । बालेन मेयर भएपछि उहाँले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो ।
चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक भएको थियो । ‘लाज शरणम्’ हास्य टेलिशृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सीताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा हुनुहुन्छ । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गर्नुभएको हो ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताको रूपमा हुनुहुन्छ ।






