काठमाडौं,
माघ २८ ।
मिसेस नोवेल नेपाल-२०२५ को ताज सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा ताजसँगै ‘नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकियो जापान’ को लागि इन्ट्री प्याकेजसमेत प्राप्त गर्नुभएको छ । प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिँदै उहाँले शीर्ष उपाधि जित्न सफल हुनुभएको हो । हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजित सो कार्यक्रममा फष्ट रनर अप सर्वण जोशी एवं सेकेण्ड रनरअप रेखा भट्टराई हुन सफल हुनुभएको थियो ।
करिब दर्जन प्रतियोगीको एक महिनासम्मको सम्पूर्ण प्रशिक्षणको अभिभारा चर्चित अवार्ड विजेता फेशन कोरियोग्राफर हिमानी सुब्बाले वहन गर्नुभएको थियो । प्रतियोगीले व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याट्वाक, प्रस्तुतीकरण बौद्धिक क्षमता विकासलगायत विषयमा प्रशिक्षण लिएका थिए । कार्यक्रमको सुरुवाती चरणमा आर्कषक नृत्यबाट प्रतियोगीले आरम्भ गरेको सो कार्यक्रममा क्रमशः परिचयात्मक चरण, पोशाक प्रदर्शनी, टप सेभेन, टप फाइब, प्रनोत्तर चरण पार गर्दै क्राउनिङ चरणमा समापन भएको थियो भने मध्यान्तरमा कोरियोग्राफर सुब्बा आफैं विशेष राउण्डमा स्टेजमा उत्रिनुभएको थियो ।
कार्यक्रममा विविध सव टाइटल अर्वाडसमेत वितरण गरिएको थियो जसमा शन्ध्या लामिछाने मोष्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोष्ट पपुलर र पब्लिक च्वाइसका साथै मोष्ट एट्राक्टिभ सर्वण जोशी वेष्ट ट्यालेन्ट, कल्पना विक मोष्ट स्मार्ट, प्रीति खड्का वेष्ट फोटोजेनिक आकांक्षा गजमेर वेष्ट क्याटवाक, शर्मीला थापा मोष्ट डिलिजेन्ट, निर्मला चौधरी मोष्ट चार्मिङ, सीमा ढुंगाना मोष्ट प्यासोनेट र पेशल कुमारी खड्का मोष्ट कन्फिडेन्ट अवार्ड जित्न सफल हुनुभएको थियो ।
कार्यक्रमको निर्णायक मण्डलमा नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, नायक मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ एवं भिजे निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहनुभएको थियो । कार्यक्रममा कलाकारले आकर्षक नृत्य प्रस्तुतिसमेत गर्नुभएको थियो । विवाहित महिलाहरूको क्षमता, प्रतिभा प्रष्फुटन गराई सामाजिक पहिचान बनाई महिलाहरूको क्षमता प्रतिभामा बडोत्तरी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।






