काठमाडौं,
माघ २० ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी.सिम्किसबीच बोर्डको कार्यकक्षमा औपचारिक भेट तथा छलफल भएको छ । अमेरिकी दूतावासका काउन्सिलर टोलीसमेत उपस्थित उक्त बैठकमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने चलचित्रका अवार्ड एवम् सम्मान समारोह तथा चलचित्रकर्मीहरूको अमेरिका भिसासम्बन्धी विषयमा छलफल गरिएको थियो।
भिसा प्रमुख ग्रेगोरी डी.सिम्किसले नेपालमा भई आएको फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनीयता र कलाकारहरूले प्राप्त गर्ने सिफारिस पत्रको आधिकारिकता माथि चासो राखेका थिए ।
बैठकमा अध्यक्ष डीसीले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल अमेरिकाको सांस्कृतिक सम्बन्ध मजबुत पार्नका लागि नेपालका फिल्मकर्मीहरूले अमेरिकामा हुने फिल्म महोत्सव, कार्यशाला तथा अन्य सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहजता पाउनुपर्ने एवं नेपालमा पनि ठूलो स्तरमा अमेरिकी र नेपाली चलचित्रको विशेष कार्यक्रम गरिनुपर्ने विषय उठान गरिएको थियो ।
भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीहरूको भिसा प्रक्रियालाई सहजीकरण गर्न तथा सकारात्मक रहेको बताउनुभएको थियो ।
चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विभिन्न पहल गर्दै आएको छ । सोही प्रयासको एक भागस्वरूप अध्यक्ष डीसीले अमेरिकासँगको सम्बन्धलाई अझ मजबुत बनाउन भिसा प्रक्रियामा थप सहजीकरण आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
यो बैठकले नेपाली चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय यात्रा सहज बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






