काठमाडौं,
माघ १९ ।
चलचित्र ‘एक्टर : टेक वन’ले शनिबार देशब्यापी ३३० शो प्राप्त गरेको छ । सकारात्मक समीक्षासँगै चलचित्रले शुक्रबारदेखि प्रदर्शन थालेको हो । सार्वजनिक बिदाको दिन देशब्यापी अकुपेन्सी पनि सुखद छ ।
कानूनी अवरोधको कारण पूर्वनिर्धारित मितिभन्दा दुई दिन ढिला सिनेमाघरमा आएको यो चलचित्र लिएर दर्शकमाझ उत्साहजनक पर्खाइ छ । चलचित्रको शुक्रबारीय अकुपेन्सी अपेक्षाभन्दा न्यून देखिएपनि निर्माता ‘बलियो वर्ड अफ माउथ’को मद्दतमा पिकअप लिनेमा आशावादी छन् ।
‘शुक्रबार साँझदेखि चलचित्रले गति लिएको छ । काठमाडौं र उपत्यकाबाहिर पनि शनिबार बिहानैदेखि अकुपेन्सी राम्रो छ’ निर्माता मोती कार्कीले भन्नुभयो, ‘पोजेटिभ माउथ पब्लिसिटीको मद्दतमा चलचित्रले अझै गति लिनेमा हामी आशावादी छौं ।’
शनिबार बिहानैदेखि दर्शक भेट्न कलाकार प्रदीप खड्का, राजवल्लभ कोइराला, दिब्या रायमाझी सिनेमाघरहरूमा पुगिरहनुभएको छ । हल भिजिटमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको अभिनेता खड्काले बताउनुभयो । ‘उत्साहजनक र पोजेटिभ फिडब्याक छ’ उहाँले भन्नुभयो ।
शनिबार दिउँसो लबिल मलस्थित क्यूएफएक्सको हलमा पुग्दा दर्शकले ‘एक्टर’को सिक्वेलको माग गरेको निर्माता कार्कीले बताउनुभयो । चलचित्रको प्रदर्शन सकिने बेला कलाकार हलभित्र छिरेपछि सेल्फी खिच्दै चलचित्रको दोस्रो सिक्वेल आउनुपर्ने बताएका थिए ।
दर्शकले क्लाइमेक्सको प्रशंसा गरेका छन् । राजन भुसालको निर्देशन रहेको चलचित्रमा आना शर्मा, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको पनि अभिनय छ । पटकथा आकाश बराल र राजन भुसालले लेख्नुभएको हो ।
अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमनकुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहनुभएको छ ।






