यस्तो छ ‘रंगी’को ट्रेलर

काठमाडौं,
माघ १९ ।

आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेतको निर्माण तथा मुख्य भूमिका रहेको ‘रंगी’को ट्रेलर शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । तीन मिनेट लामो ट्रेलरले बाबु–छोरीको भावनात्मक सम्बन्धको कथालाई पेस गरेको छ । छोरीका लागि एकल बाबुले गरेको दुःख, मिहिनेत, त्याग र समर्पणलाई चलचित्रले मुख्य कथावस्तु बनाएको सार्वजनिक ट्रेलरबाट प्रष्ट हुन्छ ।

सलोन बाबुको भूमिकामा हुनुहुन्छ । छोरीका लागि देखेको सपना पूरा गर्न उहाँ ‘फूड डेलिभरी ब्वाई’ बन्नुभएको छ । उहाँको छोरीको भूमिकामा बाल कलाकार आयुषी ढकाल हुनुहुन्छ । ट्रेलरको अन्त्यमा उहाँले स्टेजबाट आफ्नो बाबुप्रति दर्शाएको प्रेमपूर्ण संवाद मर्मस्पर्शी छ । आयुषीलाई सिटी स्क्यान मेसिनमा राखेको एउटा दृश्यले उहाँ गम्भीर रोगसँग जुधिरहेको बुझ्न सकिन्छ ।

चलचित्रमा सलोन र आयुषीसहित दीलिप रायमाझी, नम्रता श्रेष्ठ, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी, सुशान्त काजी श्रेष्ठ, साहिल खान, जयन्ती रायमाझी, आइस्मा केसी लगायतका कलाकारको अभिनय छ । पूर्व मिस नेपालसमेत रहनुभएकी नम्रताको यो डेब्यु चलचित्र हो । ट्रेलरमा उहाँले पनि स्थान पाउनुभएको छ ।

थुप्रै चलचित्रमा सहायक निर्देशकको रुपमा काम गर्नुभएका सुरेश न्यौपानेको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्रको निर्मातामा सक्षम सुवेदी, करिश्मा केसी र अनिश गौतम हुनुहुन्छ । यसमा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, रोमन बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र मुकेश शाहको साउन्ड डिजाइन छ ।

यसमा तपाइको मत

अन्य समाचार