काठमाडौं,
माघ १४ ।
यही माघ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर, पोस्टर र ट्रेलरको चर्चा राम्रो भइरहेको यो चलचित्रको सार्वजनिक नयाँ पोस्टरमा चार प्रमुख पात्र ऋचा शर्मा, उत्पल झा र बालकलाकार द्वय सम्राट र आदित्यलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ ।
प्रशान्त तामाङको लेखन, निर्माण अनि निर्देशनमा बनेको यो चलचित्रमा बाल मनोबिज्ञान, बालअधिकार, धनी-गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ । एक परिवारमा सम्बन्ध बिच्छेदले निम्त्याउने कथा चलचित्र बोल्छ ।
चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुनुहुन्छ ।
पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको चलचित्र गोपाल रायले छायांकन गर्नुभएको हो । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको सम्पादन मित्र डि गुरुङले गर्नुभएको छ । चलचित्रमा शंकर थापा स्माइल र नकुल कार्कीको संगीत, स्वास्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सुष्मा राईको कोरियोग्राफी रहेको यो चलचित्रलाई देशभर स्टेशन ५ ले बितरण गर्दैछ ।






