काठमाडौं,
माघ १४ ।
नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँचजना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा आइतबार बसेको नइ बैठकले उक्त निर्णय गरेको हो । साढे छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत पाल्पाका कृष्णप्रसाद वस्याललाई साठी हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गरिने भएको छ ।
‘नइ कीर्ति विवेचना’नामक कृतिमार्फत नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि साहित्यकार ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’ समर्पण गरिने भएको छ । यस्तै, काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संगठनको संवर्धनमा समर्पित हुँदै शिक्षा सेवामा समेत योगदान पु¥याउनु हुने झापाका धनकुटे कान्छालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यस्तै, यौनिक तथा लैगिंक अल्पसंख्यक व्यक्तिहरूको हित, मर्यादा र संगठनमा क्रियाशील र समर्पित रही देशदेशान्तरमा समेत उल्लेखनीय योगदान पु¥याउने पोखराकी तेस्रो लिंगी रजनी थकालीलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी गराउनुभयो । यी तीनवटा पुरस्कारका राशि जनही पचासपचास हजार रुपियाँ रहेका छन् ।
यस्तै, थाइल्याण्डमा सम्पन्न विश्वका चवालीस राष्ट्रका आदिवासी किशोरीको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस हेरिटेज पेटाइट युनिभर्सबाट सर्वोत्कृष्ट घोषित भई नेपालको प्रतिष्ठा बढाए बापत झापाकी मनीषा राजबंशीलाई पच्चीस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ ।






