‘कोपिलाको पुकार’ लोकार्पण

काठमाडौं,
माघ १३ ।

गीतकार सङ्घ नेपालको आयोजनामा कवि तथा गीतकार सरला श्रेष्ठको गीतिसङ्ग्रह ‘कोपिलाको पुकार’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच शनिबार सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्वमा गीतकार गजलकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा उक्त गीतिसङ्ग्रह लोकार्पण गरिएको हो ।

कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश कोइरालाले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै स्रष्टाको हकअधिकार र उन्नयनमा सङ्घ अगाडि बढेको बताउनुभयो । गीतकार सरला श्रेष्ठको गीतका बारेमा बोल्दै एउटा अब्बल र सरल सिर्जनाको धनी भएको बताए । अनुभवले खारिएको र संघर्षले भरिएको हुँदा सरल र गहिराई बोकेको सर्जक भएको बताउनुभयो ।
कोपिलाको पुकारभित्र रहेका सङ्गीतका बारेमा बोल्दै वरिष्ठ सङ्गीतकार राजु सिंहले मन छुने सङ्गीत सिर्जना भएको सुनाउनुभयो ।

सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव बद्री पाण्डे, नेपाल शास्त्रीय सङ्गीत समाजका अध्यक्ष सङ्गीता राना प्रधान, गीतकार सङ्घका पूर्वअध्यक्ष चूडामणि देवकोटाले आ-आफ्ना भनाइ राख्दै गीतकार सरलाको गीतिलेखनमा सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार डा. बरालले गीतकार सरलाको बारेमा बोल्दै लेखनमा शुद्धता, सरलता र विशिष्टता पाएको बताउनुभयो । उहाँले गीतकार श्रेष्ठको लेखनमा गहनता र महानता पनि भेटिएको सुनाउनुभयो ।

उक्त अवसरमा गायिका बबिना भट्टराई र प्रतिज्ञा कुँवरले गीत प्रस्तुत गर्नुभएको थियो । एल्बममा लक्ष्मण पोखरेल, बबिना भट्टराई, सरोज पोखरेल, निर्मल दियाली, शंकर थापा स्माइल, नरेन्द्र प्यासीको सङ्गीत रहेको छ भने दीपा झा, बबिना भट्टराई, प्रताप दास, अन्जु पन्त, शिवराज विश्वकर्माको स्वर रहेको छ । कार्यक्रममा कोपिलाको पुकार गीतको भिडियो देखाइएको थियो भने दीपा झाले पठाएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।

गीतकार सुमन पण्डितले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै गीतकार सङ्घका अध्यक्ष थापाले स्रष्टा सर्जकको सिर्जनालाई बाहिर ल्याउन सङ्घको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभया । स्रष्टाको हक अधिकार र बौद्धिक सम्पत्ति संरक्षण गर्न सदैब प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

यसमा तपाइको मत

अन्य समाचार