काठमाडौं,
माघ १२ ।
जय मिडिया मेनेजमेन्टको आयोजनामा बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ हुने भएको छ । आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।
जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने बताउनुभयो । ‘हामी फागुनबाट अडिसन सुरु गर्छौ । माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्व योजना भए पनि प्रतिकुल मौसमका कारण फागुनमा गर्न लागेका हौं’, उहाँले भन्नुभयो ।
शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले पाँच लाख, तेस्रोले तीन लाख र चौथोले दुई लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन् ।
संस्थापक जय राजले शोको निर्णायक चाँडै सार्वजनिक गरिने बताउनुभयो । उहाँका अनुसार २८ एपिसोड रहने शो नेपालको एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ ।






