काठमाडौं,
माघ ५ ।
यही माघ ११ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । दीपेन्द्र गौचनको निर्देशन रहेको चलचित्रको सार्वजनिक ट्रेलर शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।
पहाडी मूलकी युवतीलाई मधेशी मूलका युवकले कोठामा बन्धक बनाएर राखेको दृश्यबाट ट्रेलर सुरु हुन्छ । उक्त युवकले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रूपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेको छ । मिथिला संस्कृति पनि चित्रित छ ।
चलचित्र अभिनेता हुसेन रामको भूमिका र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । चलचित्र ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको पनि अभिनय छ भने अमितेष शाह विशेष भूमिकामा हुनुहुन्छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोविन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता हुनुहुन्छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।






