काठमाडौं,
माघ १ ।
चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसरमा पारेर चलचित्रको पोष्टर सार्वजनिक गरिएको हो । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।
पोस्टरमा दुईवटा कलाकार देखिएका छन् । एकजना राजर्षी पहिरनमा रहेको देखिन्छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ । निर्माण पक्षले फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै बाँकी सामग्री ट्रेलरमा आउने बताएको छ ।
परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रको कथा पनि उहाँले नै लेख्नुभएको हो ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुनुहुन्छ । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गर्नुभएको थियो भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गर्नुभएको थियो ।
चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहनुभएको छ । चलचित्र दशैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ ।






